स्थानीय चुनावमा तालमेल गर्ने औपचारिक निर्णय गरेका पाँचदलीय सत्तागठबन्धनले तालमेल मोडालिटीबारे छलफल गरेका छन्। आज बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत नेताहरू छलफलमा जुटेका छन्।
‘स्थानीय तह चुनाव केन्द्रित छलफल सुरू भएको छ। चुनावी तालमेलका मोडालिटीबारे छलफल गर्ने तयारी छ,’ बालुवाटार स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको भारत भ्रमणको समीक्षालगायत समसामयिक विषयमा पनि कुराकानी हुनेछ।’
यसअघि बसेको सत्तागठबन्धन बैठकले चुनावी तालमेल गर्ने र आवश्यक विवरण संकलन गर्न प्रदेश, जिल्ला र पालिका तहमा संयन्त्र बनाउने निर्णय गरेको थियो। साथै संयन्त्रहरूलाई आजसम्म केन्द्रमा प्रतिवेदन पठाउन भनिएको थियो।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय सत्ता गठबन्धनका पाँच दलले गरिसकेका छन् । आजको बैठकमा तालमेलको मोडालिटीबारे छलफल हुने प्रधानमन्त्री सचिवालय स्रोतले जनायो ।