काठमाडौं – नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डित विराटनगर महानगरपालिकाको मेयरमा उठ्ने संकेत गरेका छन् । स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै मोरङ जिल्लामा निर्वाचन केन्द्रित गतिविधिमा व्यस्त रहेका उनले आफू मेयरमा उठ्नसक्ने संकेत गरेका छन् ।
उनका गतिविधिपछि धेरैले आगामी स्थानीय निर्वाचनमा विराटनगर महानगरको मेयरमा एमालेका तर्फबाट उम्मेदवारी दिने सक्ने संका गरेका थिए । उनले धेरैको संकालाई यतार्थमा परिणत गर्ने गरि जवाफ दिने गरेका छन् । उनले घुमाउरो पारामा उम्मेदवार बन्ने बताएका छन् । उनले पार्टीले आवश्यक ठाने पछाडि नहट्ने बताएका छन् ।
विशेष अवस्थामा प्रदेशसभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई राजीनामा दिन लगाएर स्थानीय तहमा उम्मेदवार बनाउने एमालेको रणनीति भएकाले पनि पण्डितलाई अगामी निर्वाचनमा विराटनगर महानगरको मेयरको उम्मेदवारका रूपमा धेरैले लिन थालेका हुन् । उनी स्वयं पनि मतदाताले आफूलाई माग गर्नु अस्वाभाविक नभएको बताउँछन् ।
‘जनताको बीचमा लोकप्रिय नेता उम्मेदवार भइदियोस् भन्ने चाहाना राख्नु स्वाभाविक नै हो’, पण्डितले भने, ‘सँगसँगै सञ्चारमाध्यम र समाजका अगुवाहरूले व्यक्ति नै तोकेर फलानो भइदिए राम्रो भनेर भन्नु पनि अस्वाभाविक होइन ।’
एमाले नेता पण्डितले विगतमा आफूले जिम्मेवारीमा रहँदा पारदर्शी र अनुशासित भएर काम गरेकाले पनि विराटनगरका जनता र मतदाताको माग आउनु स्वाभाविक भएको बताए ।
नेकपा एमालेले पूर्वमन्त्री पण्डितलाई मेयरमा उठाउन लागेको हो ? हामीले यो प्रश्नमा मोरङका एक जिल्ला नेतालाई अनौपचारिक रूपमा सोध्यौँ । ती नेताले यदि पण्डित तयार भएमा उहाँलाई उम्मेदवार बनाउन पार्टी तयार रहेको प्रतिक्रिया दिए ।