आउँदो निर्वाचनमा पाँच दलिए गठबन्धन नफुट्ने देखिएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई राप्रपाको छरिएर रहेको मत तान्ने रणनीति सहित छलफल अगाडि बढाएका छन् । गत चुनावमा समेत ओलीले गृह जिल्ला झापामा राप्रपा सँग चुनावी तालमेल गरेका थिए ।
अहिले एकातिर पाँच दलिए गठबन्धन रहेको अवस्थामा एमाले सँग चुनावी तालमेल गर्ने पक्षमा राप्रपा नेपाल र राप्रपाका दुवै नेताहरू सकारात्मक रहेको र ओलीको समेत राप्रपाको मत तानेर पहिलो दल बन्ने मनसाय रहेको कारण राप्रपा सँग स्थानीय चुनावमा तालमेल गर्ने लगभग पक्का रहेको स्रोत बताउँछ ।
अघिल्लो स्थानीय निर्वाचनमा पनि कतिपय स्थानीय तहमा एमाले र राप्रपाबीच तालमेल भएको थियो । तर, राप्रपाको महाधिवेशनपछि सो पार्टी दुईवटा भएर राप्रपा र राप्रपा नेपाल भएको छ । देशभर छरिएर रहेको राप्रपाको मतलाई आफूतिर तान्न तथा केही स्थानीय तहमा राप्रपालाई पनि सघाउने गरी ओलीले छलफल थालेका हुन् ।
राप्रपाका महामन्त्रीसमेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा डवल शमशेर राणाले आफू र ओलीबीचको भेटमा चुनावी तालमेलबारे प्रारम्भिक छलफल भएको बताएका छन् । पाँच पार्टी एकतातिर उभिने भएपछि राप्रपा र एमालेले पनि सम्भावनाहरुको खोजी गर्नु स्वाभाविक भएको उनको भनाइ छ । ओलीसँग प्रारम्भिक कुरामात्रै भएकाले कसरी तालमेल गर्ने र अघि बढ्ने भन्नेबारे दुबै पार्टीमा विस्तृतमा छलफल गरेर अघि बढ्न सकिने उनको भनाइ छ ।
एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला एकै हो । अघिल्लो चुनावमा दुई पार्टीबीच तालमेल पनि भएको थियो । राजेन्द्र लिङ्देन राप्रपाको नेतृत्वमा आएपछि ओलीसँग तालमेल के होला भन्नेबारे चासो बढेको छ । तर चुनाव सम्ममा तालमेलको बातावरण बन्न सक्ने स्रोत बताउँछ ।
राप्रपासँग जस्तै ओलीले तालमेलका लागि राप्रपा नेपालसँग पनि छलफल चलाएका छन् । राप्रपाका नेता सुशील श्रेष्ठको भनाइमा चुनावी तालमेलमा ओली र थापाबीच सहमति भइसकेको छ ।
श्रेष्ठले आफूहरुले आफ्नोतर्फबाट चुनावको तयारी गरिरहेको र एमालेसँग पनि तालमेलको सहमति भइसकेको दाबी गरे । नयाँ पार्टी भएको कारणले गर्दा देशव्यापीरुपमा उम्मेदवारी दिने अवस्थामा पार्टी नरहेको उनको भनाइ छ ।
यसरी हेर्दा पाँच दलिए गठबन्धन एकातिर रहेको बेला एमाले अध्यक्ष ओली राप्रपाका दुई समूह सँग तालमेल गरेर एमालेले राप्रपाको छरिएर रहेको मत तान्ने रणनीति सहित चुनावी तालमेल गर्ने मनसायमा ओली रहेको स्रोत बताउँछ ।