एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद भंगको सिफारिस गरेका छन्। उनले राष्ट्रपतिसमक्ष संसद भंगको सिफारिस गर्दै चुनावको तयारी गर्न भनेका छन्।
पाकिस्तानको नेशनल एसेम्बलीमा इमरान खानविरुद्ध लगाइएको अविश्वास प्रस्ताव पनि खारेज गरिएको छ। त्यहाँका उपसभामुखले अविश्वास प्रस्ताव खारेज गरिदिएका हुन्। त्यसपछि इमरान खानले देशलाई सम्बोधन गर्दै राष्ट्रपतिसँग संसद भंग गर्दै ९० दिनभित्र चुनावको सिफारिस गरेका छन्।
नेशनल एसेम्बलीमा विपक्षीको अविश्वास प्रस्ताव खारेज भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशलाई सम्बोधन गर्दै मध्यावधि चुनावको तयारी गर्न भनेका छन्। उनले संसद भंग गर्न गरिएको सिफारिस राष्ट्रपतिकहाँ पठाएका छन्।
उनले भने, ’देशका जनता चुनावको तयारी गर्नु। अरु कसैलाई यो देशको भविष्य तय गर्ने अधिकार छैन। यहाँका जनता नै देशको भविष्य तय गर्न सक्षम छन्।
उनले आफूविरुद्धको अविश्वास प्रस्ताव संसदबाट खारेज भएसँगै अब देश ताजा जनादेशतिर अघि बढेको पनि बताएका छन्। सभामुखले अविश्वास प्रस्ताव खारेज गरिदिएको भन्दै उनले धन्यवाद दिएका छन्।
’आज सभामुखले आफ्नो संवैधानिक शक्तिको प्रयोग गरेर निर्णय लिएका छन्’, उनले भने, ’त्यसपछि मैले राष्ट्रपतिलाई संसद भंग गर्नका लागि आवश्यक सिफारिस राष्ट्रपतिलाई पठाइदिएको छु।’
यसअघि पाकिस्तानको नेशनल एसेम्बलीमा विपक्षको अविश्वास प्रस्तावलाई उपसभामुखले असंवैधानिक र संविधानको अनुच्छेद ५ को उलंघन भएको ठहरसहित खारेज गरिदिएका थिए।