नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू सत्तामा पुग्न नपाउने त्रासले आत्तिएका विरोधीले जालझेल गरेर एमालेलाई सत्ता च्युत गराएको आरोप लगाएका छन् ।
नेकपा एमाले खोटाङले शनिवार दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय आत्मनिर्भरता विकास गरेर देखाएकाले एमालेलाई सत्ताच्यूत गरिएको बताएका हुन् ।
वृद्धवृद्धालाई भत्ता, आफ्नो गाउँ आफै बनाऔंदेखि विकासको नयाँ लहर ल्याएको देखेर एमालेले सँधै सरकार चलाउने र आफु सत्तामा पुग्न नपाउने त्रासले आत्तिएका विरोधीले जालझेल र षडयन्त्र गरेर परमादेशमार्फत एमालेलाई प्रतिपक्षको ठाउँमा पुर्याएको अध्यक्ष ओलीको भनाइ थियो ।
‘एमालेको नेतृत्वमा विकासको नयाँ लहर सुरु भयो । पुनर्निर्माणको लहर सुरु गर्यो । हामी विकास गर्न सक्ने रहेछौँ, नेपाल सँधै गरीब हुने देश होईन रहेछ भन्ने राष्ट्रिय आत्मनिर्भरता र राष्ट्रिय आतमबिश्वास अगाडि बढायौँ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘तर विरोधीहरू आत्तिए । एमालेले सँधै सरकार बनाउने भो, सँधै एमालेले सत्ता चलाउने भो, उनीहरू आउन नपाउने भए भनेर आत्तिएर जालझेल गरेर परमादेशबाट एमालेलाई सरकारबाट हटाएको हो ।’
उपाध्यक्ष रामबहादुर थापा बादललाई लिएर खोटाङ पुगेका अध्यक्ष ओलीले टुटफुटले एमालेलाई कुनै असर नपुगेको दाबी समेत गरेका थिए । ओलीले केही नेताले पार्टी छाडे पनि अहिले एमाले कमजोर नभै थप सुदृढ भएको समेत दावी गरेका थिए।
२०५४ सालमा एमाले फुटाइयो तर एमाले जस्ताको तस्तै । पछि पनि पार्टी फुटाइयो, एमाले जस्ताको तस्तै रह्यो,’ ओलीले भने, ‘एमालेबाट केही मान्छे अन्त लागेका भए पनि एमाले जस्ताको तस्तै मात्र होइन अझ सुढृड भएर अगाडि बढेको दावी अध्यक्ष ओलीको थियो ।