काठमाडौं — भारतीय भ्रमणमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले भारती समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गरेका छन् । उक्त भेटमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले द्विपक्षीय सबन्धलाई अझ सुदृढ गर्न वाचा गरेका हुन् ।
स्रोतका अनुसार दुई प्रधानमन्त्रीका बीचमा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ सुदृढताका साथ अगाडि बढाउने उपायबारे विचार आदान–प्रदान भएको थियो । दुईपक्षीय भेटवार्तापछि केही बेरमा दुवै देशका प्रधानमन्त्रीले नेपाली रेलको उद्घाटन कार्यक्रम गर्ने तयारी छ ।
यता देउवा र मोदी भेटवार्ता भएकै दिन काठमाडौंमा नाकाबन्दीकै झल्को दिनेगरी पेट्रोल पम्पहरुमा लाइन लागेको छ । देउवा भारतमै रहेका बेला भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची नेपाल आएको छ ।
उक्त नयाँ मूल्य सूची नेपाल आएसंगै काठमाडौँमा २०७२ को भारतीय नाकाबन्दीको झल्को दिने गरी पेट्रोलपम्पहरुमा लामो लाइन देखिएको छ। शनिबार बिहान काठमाडौंका पेट्रोलपम्पहरुमा लामो लाइन देखिएको छ।
इन्डियन आयल कर्पोरेसनले शुक्रबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य घटे पनि एलपी ग्यास, डिजेल, मट्टितेललगायतको मूल्य ह्वात्तै बढेको छ।
आगामी दिनमा पेट्रोल अभाव हुन सक्ने भन्दै मोटरसाइकल तथा साना सवारी चालकहरू पेट्रोल पम्पमा लाइन लाग्न थालेका हुन्। यसले पेट्रोलको हाहाकार हुने संकेत गरेको छ ।
नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीहरूले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएपछि थप अभाव भएको हो। अहिले नेपाली सेना, पुलिस र सशस्त्रको पम्पहरूमा सवारीको बाक्लो लाइन छ ।