सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

काठमाडौँमा गठबन्धन : एमालेलाई साइजमा राख्न महानगरसहित कांग्रेसलाई ६,माओवादी र समाजवादीलाई कति-कति ?


  • बिहिबार, चैत्र १७ २०७८
11K
SHARES

फाईल तस्बिर

काठमाडौँ – मंगलबार सकिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘स्थानीय परिस्थिति र आवश्यकताका आधारमा’ चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेसँगै पाँच दलबीच गठबन्धन हुने निश्चित भएको छ।

पहिलेदेखि नै गठबन्धनको पक्षमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चा कांग्रेसको निर्णयसँगै उत्साहित भएका छन्। सत्तामा रहेका पाँच दलको बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले स्थानीय तहको चुनावमा गठबन्धन गर्ने औपचारिक निर्णय गर्दै वडा तहसम्म संयन्त्र बनाउने निर्णय लिएको छ।

पाँच दलको यो निर्णयसँगै एमालेविरुद्ध देशव्यापी मोर्चाबन्दी गरेर अघि बढ्न कांग्रेस, माओवादी, समाजवादी, जसपा र जनमोर्चा मानसिक र संगठनात्मक रुपमा तयार भएका छन्।

उनीहरुले पाँच दलीय संयन्त्रमार्फत सम्बन्धित ठाउँमा दल हैसियतको मूल्यांकन गरेर माथिल्लो निकायमा पठाउने निर्णय गरेको कांग्रेस नेतासमेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

केन्द्रमा गठबन्धन गर्ने निर्णय भएसँगै राजधानी काठमाडौँमा कसरी चुनावी तालमेल गर्ने भन्ने विषयमा कांग्रेस, माओवादी र समाजवादीका नेताहरुले गरिरहेको छलफलले सार्थकता पाएको छ। काठमाडौँमा एक महानगरपालिकासहित अरु १० वटा नगरपालिकाहरु छन्।

११ वटा नगरपालिकामध्ये कांग्रेसले ६ वटा लिएर बाँकी ५ वटामा माओवादी र समाजवादीबीच भागवण्डा गर्ने गरी छलफल अघि बढेको कांग्रेस र समाजवादीका नेताहरु बताउँछन्।

‘काठमाडौँमा कांग्रेसले महानगरसहित ६ वटा नगरपालिका लिएर बाँकीमा माओवादी र समाजवादीलाई छाड्ने सम्भावना छ,’ कांग्रेसका एक नेताले भने। पाँच वर्षअघिको स्थानीय चुनावमा ११ मध्ये कांग्रेसले चारवटा मात्रै जित हासिल गरेको थियो भने एमालेले महानगरपालिकासहित ७ वटा जितेको थियो।

यसपटक काठमाडौँमा एमालेलाई साइजमा राख्ने योजनाका साथ गठबन्धनमा आबद्ध दलहरुबीच कुराकानी सकारात्मक रुपमा अघि बढेको काठमाडौँ कांग्रेसका ती प्रभावशाली नेता बताउँछन्।

२०७४ सालको चुनावमा कांग्रेसले गोकर्णेश्वर, दक्षिणकाली, नागर्जुन र चन्द्रागिरी नगरपालिका जितेको थियो। यसपटक ती नगरपालिकालाई कायमै राखेर महानगरसहित कम्तिमा दुईवटा थप हुनुपर्ने पक्षमा कांग्रेस छ।

पार्टी विभाजपछि पनि काठमाडौँमा एमाले बलियो रहेको अनौपचारिक कुराकानीका क्रममा कांग्रेसका नेताहरु स्वीकार गर्छन्। उपत्यकामा खासै प्रभाव नरहेको माओवादीभन्दा विभाजनबाट बनेको समाजवादीमार्फत एमालेको भोट काट्ने रणनीति कांग्रेसले लिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा