सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

रोहनले हर्न बजाइरहे, आँखै अगाडि टिपरले लियो दुई छोरीको ज्यान


  • बुधबार, चैत्र १६ २०७८
12.4K
SHARES

काठमाडौँ– बिहानीको समय थियो। सबै बालबालिका विद्यालय जाने तयारीमा थिए। कोही स्कुल बस छुट्छ भन्दै हतारमा थिए त कोही घरबाट स्कुल बस आउने स्थानसम्म जाँदै थिए। कोही भने आफ्ना छोराछोरीलाई स्कुल वा स्कुल बस आउने ठाउँसम्म पुर्‍याउने हतारोमा थिए।

गोकर्णेश्वर नगरपालिका-१ श्वेतबाराही मन्दिर नजिकै घर भएका रोहन तामाङ पनि आफ्ना दुई छोरीलाई स्कुल बससम्म पुर्‍याउँदै थिए। उनको घर भएको स्थानसम्म स्कुल बस आउँदैनथ्यो। तामाङ आफ्ना छोरीहरुलाई विद्यालय पठाउन सधैं बस स्टपसम्म पुर्‍याउन जान्थे। उनको घरबाट बस आउने ठाउँसम्म पुग्न करिब १० मिनेट जति लाग्छ।

उनी आफ्नी ८ वर्षीया ठूली छोरी सृष्‍टि र ४ वर्षकी श्रेयालाई दैनिक बस स्टपसम्म पुर्‍याउन जान्थे। ठूली छोरी वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा कक्षा २ मा पढ्थिन्। ४ वर्षकी श्रेयालाई पनि कोरोना महामारीपछि लकडाउन खुलेसँगै यही वर्ष त्यही स्कुलको नर्सरी कक्षामा उनले भर्ना गरिदिएका थिए।

कहिलेकाहीँ बस छुटे तामाङ आफैले विद्यालयसम्मै छोरीहरुलाई पुर्‍याएर फर्किने गरेका थिए। तर बुधबार भने छोरी विद्यालय पुर्‍याउन हिँडेका रोहनले आफ्नो आँखै अगाडि दुबै छोरी गुमाए। विद्यालय जाँदै गर्दा बीच बाटोमै टिपरले किचेर दुवै छोरीको ज्यान लियो।

रोहन बसेको क्षेत्रमा सडक कालोपत्रे हुँदैछ। कालोपत्रे हुँदै गरेको त्यही सडकमा बालुवा बोकेको टिपर अगाडि गुडिरहेको थियो। रोहन आफ्नो मोटरसाइकलमा दुवै छोरीहरुलाई राखेर टिपरको पछिपछि थिए। जाँदाजाँदै बीच बाटोमा विपरीत दिशाबाट आएको गाडीलाई बाटो पुगेन।

उनको अघि–अघि रहेको बा ४ ख ६९६५ नम्बरको टिपर अचानक ब्याक हुन थाल्यो। रोहनले बाइकको हर्न बजाउन थाले तर टिपर चालकले उनले बजाइरहेको हर्न सुनेनन्। अन्ततः टिपरले उनीहरुलाई किचेरै छाड्यो।

टिपरले ठक्कर दिएपछि बाइकबाट खसेका छोरीहरू टिपरकै टायरमा परेर घटनास्थलमै बिते। रोहन गम्भीर घाइते छन्।

प्रहरी चौकी मेलम्चीका सई देव सागर तामाङका अनुसार विपरित दिशाबाट आएको गाडीलाई बाटो नपुगेपछि गुडिरहेको टिपर ब्याक गर्दा टिपरले किचेर रोहनका दुवै छोरीहरुको मृत्यु भएको हो।

‘छोरीहरुलाई विद्यालय पुर्‍याउन जाँदै हुनुहुँदो रहेछ। बीच बाटोमा विपरीत दिशाबाट आएको गाडीलाई बाटो नपुगेपछि टिपरले ब्याक गर्दा किचेर दुवै छोरीको घटनास्थलमै मृत्यु भएको हो,‘ उनले भने, ‘उहाँले हर्न त बजाइराख्नु भएकै थिएछ तर टिपर चालकले सुनेनछ त्यसैले किचेछ।‘

टिपरले किचेर गम्भीर घाइते भएका रोहनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ। दुई बालिकाको ज्यान लिएपछि आक्रोशित स्थानीय र आफन्तले टिपरमा आगजनी गरेका छन्। सडकमा टायर बलेर मेलम्ची चोकमा स्थानीयले सडक बन्द गरेका छन्। स्थानीयलाई तितरबितर पार्न प्रहरीले केही सेल अश्रु ग्याससमेत प्रहार गरेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा