सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

इटहरी बम विस्फोट : को हुन् सशस्त्र युद्धको घोषणा गर्ने हिमाल सुरक्षा परिषद्का कमान्डर?


  • मंगलबार, चैत्र १५ २०७८
11K
SHARES

काठमाडौं– इटहरी–२ नवजागृति टोलको एक घरमा सोमवार राति साढे १० बजेतिर बम विस्फोट भयो। विस्फोटमा परी इटहरी बस्दै आएका २२ वर्षीय रवीन थापा र उनका साथी लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भए।

थापाको कोठामा बस्न आएका गुरुङले ल्याएको सुतली बम पड्किएको प्रहरीको आशंका छ। घाइते दुवै जनालाई प्रहरीले आफ्नो निगरानीमा राखेर उपचार गराइरहेको छ। ‘घटना कसरी भयो, बम कहाँ विस्फोट गराउने योजना थियो, घटनामा कसको संलग्नता छ भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका एक अधिकारीले भने।

घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद् र कंग्रुन्ट फ्रन्ट नेपाल (कफन) को पर्चासमेत बरामद गरेको छ। कफनको पर्चामा ‘पूर्वाञ्चल डिभिजन प्रमुख’ भनेर बृजकिशोर ठाकुरको नाम र मोबाइल नम्बर राखिएको छ। उक्त मोबाइल नम्बरमा नेपाल लाइभले सम्पर्क गर्दा ठाकुरले अहिलेसम्म आफ्नो पार्टीले सशस्त्र गतिविधि नगरेको र गर्ने कुनै तयारी पनि नभएको दाबी गरे।

‘कसले हाम्रो पर्चा त्यहाँ राख्यो भन्ने जानकारी हामीलाई छैन। हाम्रो पार्टीको बदनाम गराउने उद्देश्यले पर्चा दुरुपयोग भएको हुन सक्छ। प्रहरीले अनुसन्धान गरेर पत्ता लगाउला नि,’ ठाकुरले भने। प्रहरी स्रोतले पनि यो घटनामा हिमाल सुरक्षा परिषद्को संलग्नता रहेको नेपाल लाइभलाई जनाएको छ।

भारतबाट नेपाल छिर्‍यो बम, चर्चमा विस्फोट गराउने योजना

सोमबार राति ‘असावधानीबस’ पड्किएको बम भारतबाट नेपाल ल्याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। घाइते अवस्थामा रहेका गुरुङले प्रहरीसमक्ष उक्त बम भारतको जोगबनीबाट ल्याएको बताएको स्रोतको भनाइ छ। निश्चित रकम दिने बताएपछि आफूले बम बोकेर ल्याएको उनले प्रहरीलाई बताएका छन्।

इटहरीकै एक चर्चमा राख्न भनेर जंगबहादुर नाम बताउने व्यक्तिले बम बोकाएर पठाएको गुरुङले बताएको एक प्रहरी अधिकारीले जानकारी दिए। तर, ती व्यक्तिले भनेको चर्च नभेटेपछि बम लिएर आफू थापा बस्ने कोठामा गएको र त्यही बिस्फोट भएको गुरुङले प्रहरीसँग भनेका छन्।

थापाले भने आफूलाई बमबारे कुनै जानकारी नभएको बताएका छन्। गुरुङ आफ्नो कोठामा बस्न आएको र बम नै लिएर आएको भन्ने आफूलाई जानकारी नभएको थापाले बताएको प्रहरीको भनाइ छ।

के हो हिमाल सुरक्षा परिषद्?

एक महनिाअघि मात्रै हिमाल सुरक्षा परिषद्ले सशस्त्र युद्धको घोषणा गरेको थियो। गत फागुन १५ गते सशस्त्र युद्धको घोषणा गर्न प्रकाशित गरेको विज्ञप्तिमा हतियारको तस्बिरसमेत राखेको थियो।

संघीयता खारेज गर्नुपर्ने, पाँच विकास क्षेत्र र हिन्दू राष्ट्र कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्नेलगायत माग राखेर यो संगठनले युद्धको घोषणा गरेको हो। हतियारको तस्बिरसहितको विज्ञप्ति मिडियामा पठाउँदै सशस्त्र युद्धको घोषणा गर्दासमेत सुरक्षा निकायले गम्भीरतापूर्वक लिएको थिएन।

संगठित रुपमा आपराधिक गतिविधि गर्नका लागि यो समूह खडा गरिएको नेपाल प्रहरीको विशेष ब्यूरोले विश्लेषण गरेको थियो। विगतको ‘गोरखा जनमुक्ति पार्टी’को नामबाट आपराधिक गतिविधि गर्ने समूहले नै कारागारबाट छुटेपछि नाम परिवर्तन गरी ‘हिमाल सुरक्षा परिषद्’ राखेर चन्दा आतंक सुरु गरेको ब्यूरोको बुझाइ छ। चन्दा आतंककै लागि विस्फोटसम्मको योजना बनाएको हुनसक्ने प्रहरी अधिकारीहरू बताउँछन्।

हिमाल सुरक्षा परिषद्को कमाण्डर झापाका खगेन्द्र खरेल रहेको प्रहरी स्रोतको भनाइ छ। स्रोतका अनुसार उनी पहिला पनि विस्फोटक पदार्थ ओसारपसारको कसूरमा जेल परेर छुटेका व्यक्ति हुन्। भारतमा बसेर नेपालमा आतंक फैलाउँदै चन्दा असुली गर्ने मुख्य उद्देश्यले हिमाल सुरक्षा परिषद् गठन भएको हो। विशेष ब्यूरोका एक उच्च अधिकारीले भने, ‘राजनीतिक उद्देश्यले नभइ चन्दा असुलीका लागि यो समूह खडा गरेजस्तो देखिन्छ। किनकि, यसमा संलग्न व्यक्तिहरू धेरैजसोको पृष्ठभूमि राजनैतिकभन्दा पनि आपराधिक छ।’

-नेपाललाइभमा नारायण अधिकारीले लेखेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा