चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का लागि चितवनबाट अर्को दुःखद खबर प्राप्त भएको छ । नेपाली कांग्रेसका स्थानीय नेताले गठबन्धन गर्न नसकिने बताएका छन् । फागुन तेस्रो साता सभापतिमा निर्वाचित राजेश्वर खनालले स्थानीय तहको निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने बताएका छन् ।
स्थानीय तह निर्वाचन अभियानमा जुटेका उनी ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत विभिन्न पालिका र वडा–वडाका पुगेका उनले माओवादी बोक्न नसकिने बताउन थालेका छन् ।
२०७४ मा चितवनका सात पालिकामध्ये इच्छाकामना गाउँपालिकामा मात्र प्रमुख जित्न सकेको कांग्रेसलाई यसपटक गुमेको साख फर्काउने चुनौती छ । अघिल्लो पटक भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) कि रेनु दाहाललाई कांग्रेसले समर्थन गरेर जिताएको थियो । त्यसबेला रेनुलाई जिताउन मतपत्र च्यातेको घटनामा समेत बद्नामी कमाएको कांग्रेस यसपटक एक्लै निर्वाचन लड्ने मनस्थितिमा छ ।
तर केन्द्रमा चार दलको गठबन्धन भएकाले भरतपुर फेरि माओवादीलाई छाड्नुपर्ने हो कि भन्ने चासो र चिन्ता चितवनका नेता कार्यकर्तालाई छ । ३८ बर्षदेखि राजनीतिमा क्रियाशील जिल्ला सभापति खनाल यसपटक कुनै पनि हालतमा माओवादीलाई नबोक्ने बताउँछन् ।
‘मुल कुरा, नेपाली कांग्रेसको सोच, स्वभाव गठबन्धनमुखी छैन । विगतमा गरेको गठबन्धन पनि संस्थागत जस्तो देखिएन, ब्यक्तिगत जस्तो भयो । त्यसले, केही फाइदा भएन । कार्यकर्ता, शुभेच्छुक, अग्रज सबैसंगको छलफलमा कांग्रेस अब एक्लै निर्वाचनमा जानुपर्छ भन्ने आवाज छ ।’ उनले भने ।
पार्टी केन्द्रले गठबन्धन गर्ने र प्रचण्डको जिल्ला भएकोले भरतपुर महानगर माओवादीलाई दिने भन्यो भने तपाईँ के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘जिल्लामा पार्टीको संस्थागत निर्णय गरेर माथि पठाउँछौं । कांग्रेसबाटै मेयरको उम्मेदवार बनाउन भन्छौं । भरतपुरमा हामी माओवादी बोक्न सक्दैनौं, बोक्दैनौं । चितवनमा गठबन्धन चाहिदैन, हामी एकल रुपमा जित्छौं । यसमा हामी पार्टी सभापतिलाई ‘कन्भिन्स’ गछौं ।’
उनले लादन खोजिएको निर्णय कार्यान्वयन नहुने बताए । ‘चितवनमा त कांग्रेस मतदातालाई फेरी माओवादीलाई मत देउ भन्ने परिस्थति नै छैन । लादन खोजिएको निर्णय चितवन कांग्रेसले मान्दैन । शिर झुकाउँदै मत मागेर चुनाव जितिन्न, जिताउन पनि सकिन्न ।’ उनले भने ।