नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै राष्ट्रको अध्यक्षको जिम्मेवारी आफ्नो टाउकोमा रहेको अनुभूति हुने गरेको बताएका छन्।
भरतपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले देशमा कुनै अफ्ठ्यारो पर्यो भने जसरी(तसरी बचाउने भारी बोकेर बसिरहेको अनुभूति हुने गरेको बताए।
‘म माओवादी केन्द्रको अध्यक्ष छु। दुई पटक देशको प्रधानमन्त्री भएँ। तर मलाई माओवादी केन्द्रको अध्यक्षजस्तो मात्रै लाग्दैन अचेल। सिंगै राष्ट्रको जिम्मेवारी मेरो टाउकोमा छ जस्तो लाग्छ,’ उनले भने, ‘देशमा संकट आयो, देशमा जस्तो हुन्छ, त्यो संकटबाट टार्नुपर्ने हुन्छ।’
उनले नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको अनुपस्थितिमा एक्लै भारी बोक्नु परेकोजस्तो भइरहेको बताए।
चितवनमा नेपाली कांग्रेसले एक्लै-एक्लै चुनावमा जाने बताइरहँदा गृह जिल्ला आइपुगेका प्रचण्डले आफ्नै-आफ्नै ढंगले गएको भए देशमा शान्ति प्रक्रिया हुन्थ्यो कि हुन्थेन सोच्न आग्रह गरे। उनले आफ्नै-आफ्नै ढंगले गएको भए शान्ति प्रक्रिया, संविधानसभा, संविधान केही पनि नबन्ने बताए।
‘आजभोलि केही साथीहरू भन्न थाल्नुभा’छ मिलेर जाने होइन आफ्नै आफ्नै ढंगले जानपर्छ भन्न थाल्नुभएको छ। ठिकै छ आफ्नै आफ्नै ढंगले जाने हो भने पनि हामीलाई कुनै आपत्ति छैन, त्यसरी जानपनि सकिन्छ,’ उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले जीवनको उत्तरार्द्धमा सहमति, सहकार्य र एकता मात्रै किन भनेको होला, नबुझेर त होइन होला नि ?’