शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

यी स्थानमा एमाले–कांग्रेसबीच हुदैछ तालमेल, माओवादी र समाजवादी हेरेको हेर्यै !


  • बिहिबार, चैत्र १० २०७८
9.3K
SHARES

फाइल तस्विर

काठमाडौँ – सत्ता घटकहरुबीच चुनावी गठबन्धनको मोडालिटिबारे छलफल हुँदै गर्दा जिल्लास्तरमा भने केन्द्र प्रतिकुलको अवस्था सिर्जना हुने देखिएको छ । गठबन्धनभित्र सोलोडोलो सबैतीर तालमेल गर्ने भन्दा पनि आवश्यकता अनुसार अघि बढ्ने तयारी छ । तर रोल्पा, रुकुम लगायतका माओवादी केन्द्रको बर्चस्व रहेको जिल्लामा नै कांग्रेस–एमाले तालमेलको परिस्थिती विकास भएपछि सत्ताघटक कसरी अघि बढ्छन चासोको विषय बनेको हो ।

स्थानीय तहको निर्वाचन नजिकिएसंगै सत्ता घटकभित्र मात्र नभई प्रमुख प्रतिपक्षी दल एमालेभित्र पनि तालमेलको विषयमा चर्चा सुरु भएको छ । कांग्रेसले गठबन्धन नरोजे वामपन्थी एकहुन सक्ने वा कांग्रेसविहिन गठबन्धन बन्न सक्ने आंकलनकाबीच केहि जिल्लामा भने एमाले–काग्रेसको गठन्धनको समेत सम्भावना देखिएको छ ।

अहिले सत्ताघटक भित्र कांग्रसले सबै स्थानीय तहमा गठबन्धन गर्न नसकिने तर आफू कमजोर रहेको स्थानमा भने मिलेर जाने अडान लिदैँ आएको छ । जुन कांग्रेसकै गठबन्धनविरुद्ध रहेको एक तप्का र गठबन्धन आवश्यक रहेको माओवादी केन्द्र र एकीकृत समाजवादीको बुझाईको मध्यमार्गी बाटो हुनसक्नेमा सत्ताघटक सहमत नै देखिएका छन । फलत ः कांग्रेस कमजोर रहेको चार जिल्लामा जिल्लास्तरबाटै तालमेल गरेरै अघि बढ्ने सहमती भएको छ ।

विशेषत रोल्पा रुकुम लगायतका जिल्लाका कांग्रेस नेता एमालेसंग तालमेल गर्ने तयारीमा देखिएका छन । सो क्षेत्रमा तालमेलका लागि कांग्रेसले प्रस्ताव पठाएको एमाले नेताहरुको दाबीका बीच कांग्रेकै नेताहरुले समेत केन्द्रको अवस्था भन्दा त्यहाँको स्थिती फरक रहेको स्वीकारेका छन । एमालेका प्रदेशस्तरीय नेताहरुले नै तालमेलका लागि भेटघाटसमेत बढाएको र कार्यकताको माग पनि त्यहि रहेको कांग्रेस रोल्पा सभापती किशोर आचार्यको भनाई छ ।

आफू बलियो रहेकै स्थानमा कांग्रेसको यो तयारीले माओवादी केन्द्र भने झस्किएको छ । १ नगरपालिका र ९ गाउपालिका रहेको रोल्पामा ७ स्थानीय तहमा माओवादीले नेतृत्व गर्दै आएको छ । तर त्यहि आफू विरुद्ध कांग्रेसले कदम चाल्दा कांग्रेस कमजोर रहेका स्थानमा किन साथ दिने भन्ने प्रश्न माओवादी भित्र देखिएको छ । यद्यपी केन्द्रबाटै निर्देशन आए त्यस विरुद्ध जिल्लास्तरका नेताहरु जाने सम्भावना कम भएपनि स्थानीय आवश्यकताका आधारमा पार्टीले चुनावी गठबन्धन गर्ने कांग्रेसको तयारीले भने माओवादीलाई चिसो पसेको हो ।

कांग्रेस नेताहरुका अनुसार काठमाडौंसहित मुलुकका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धन दलहरूसँग तालमेलको तयारी भईरहेको छ । तर यसको आधिकारिक निर्णय भने चैत ११ गतेका लागि केन्द्रीय समितिको बैठकले गर्ने छ । यता एमालेले पनि राप्रपा, लोसपा, विप्लव नेतृत्वको लगायतका दलहरुसंग तालमेलका लागि छलफल गरिरहे पनि निर्वाचन बारे विप्लव प्रष्ट नहँुदा ठोस निष्कर्ष निकाल्न सकेको छैन ।

तर राष्ट्रवादी र विचारमिल्ने शक्तीहरुबी भने चुनावी तालमेलको प्रयास जारी रहेको एमाले नेताहरुको भनाई छ । अहिले कांग्रेस नेता डा। शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायतले निरन्तर चुनावी तालमेल गर्न नहुने मत राख्दै आएका छन् । पार्टीमा दुईमत देखिँदा सके गठबन्धनको पक्षमा सके सहमतिमा नसके बहुमतबाटै भए पनि निर्णय लिने देउवाको तयारी छ ।

तर स्थानीय तहको गठबन्धनको जिम्मा स्थानीय तहलाई नै दिनुपर्नेमा भने उनीहरुका लागि मध्यमार्गी बाटो बन्ने सम्भावना छ । यो विकल्पलाई अन्य सत्ता घटकले पनि स्वीकार गरे वामपन्थी एक हुने त्रासपनि टर्ने र पार्टीमा पनि फरक मत नरहने कांग्रेसी नेताहरुको बुझाई छ । तर यहि निर्णयमा टेकेर माओवादी बलियो भएको तर माओवादी विरुद्धको भावना भएका कार्यकता भएको स्थानमा कांग्रेसले लिनसक्ने निर्णयको जोखिमले यो विकल्प पनि सहज भने देखिएको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा