बिबिसी । विश्वभर परमाणु युद्धको त्रास बढिरहेका रुसले स्पष्ट रुपमा यसबारे जवाफ दिएको छ । युक्रेनविरुद्ध आक्रमण जारी राखेको रुसले ‘गर या मर’को अन्तिम अवस्था आए परमाणु हतियार प्रयोग गर्ने बताएको हो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले उक्त अभिव्यक्ति दिएका हुन् । उनले परमाणु हतियारको प्रयोग देशको सुरक्षाका लागि हुने बताएका छन् । मंगलबार समाचार च्यानल सीएनएनलाई दिएको अन्तरवार्तामा पेस्कोवले युक्रेनविरुद्धको लडाइमा परमाणु हतियार प्रयोगको सम्भावनालाई इन्कार गरेनन् ।
अन्तरवार्ताको क्रममा परमाणु हतियारबारे सोधिएको एक प्रश्नमा उनले भने, ‘देशको सुरक्षाका लागि हाम्रो अवधारणा सबैलाई जानकारी नै छ । हाम्रो देशसामु जीवन–मरणको स्थिति पैदा भयो भने आफ्नो नीति अनुसार परमाणु हतियार प्रयोग गर्न सक्छौं ।’
यसअघि रुसी राष्ट्रपति पुटिनले परमाणु हतियारहरुलाईसमेत तयारी अवस्थामा राख्न निर्देशन दिएका थिए । यद्यपि अमेरिकालाई डर देखाउन मात्र रुसले परमाणु हतियारको कुरा गरेको भनेर पनि समाचारहरु सार्वजनिक भएका थिए ।
त्यसैगरी पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धप्रति राष्ट्रपति पुटिनको आक्रोश र नेटोबाट रुसलाई खतरा रहेको भन्ने उनको डरका कारण सिर्जित अवस्थाको सङ्केतको रूपमा पनि त्यसलाई हेरिएको थियो। विज्ञहरूले पुटिनका प्रवक्ताको पछिल्लो भनाइलाई रुसको पारमाणविक नीतिमा आएको परिवर्तनको रूपमा अर्थ्याउन नहुने बताएका छन्।
“परमाणुअस्त्र प्रयोगसम्बन्धी लामो समयदेखिको उनीहरूको नीतिबारे यो पुनर्अभिव्यक्ति हो, कुनै नयाँ कुरा होइन,“आईसेक पार्टनर्स एन्ड एनजीसी सेक्यूरका पूर्वप्रमुख सुरक्षा सल्लाहकार म्याट टेटले ट्वीट गरेका छन्।
“मलाई गलत नठान्नुहोला, आफ्ना परमाणुअस्त्रलाई लिई अमेरिकाले चिन्ता गरेको देखेर उनीहरू आनन्द मान्छन्। तर पेस्कोफको अभिव्यक्ति उनीहरूको नीतिमा परिवर्तन आएको सङ्केत होइन,“ उनले थपेका छन्।
सन् २०१८ को एउटा वृत्तचित्रमा पुटिनले भनेका थिएः “‘कसैले रुसलाई नष्ट गर्ने सोचेमा प्रतिकार गर्ने हामीसँग कानुनी अधिकार छ। हो, त्यो मानवजाति र विश्वका लागि विनाशकारी हुनेछ। ‘तर म रुसको नागरिक हुँ र यसको प्रमुख हुँ। हामीलाई रुसविनाको विश्व किन चाहियो?’