संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानबीच भर्चुअल सम्वाद भएको छ। जेठ १४ गते आयोजना हुने ‘दबंग टूर’का लागि मन्त्री आले र अभिनेता खानबीच सम्वाद भएको हो।
मन्त्री आलेले अभिनेता खानलाई माउन्टेन फ्लाइटमार्फत् हवाइ सयर गराउने प्रस्ताव गरेका थिए। ‘तपाइँको समय मिल्छ भने म माउन्टेन फ्लाइटमार्फत् सगरमाथाको सयर गराउन चाहन्छु। सगरमाथा ब्रेकफास्टका लागि लोकप्रिय पनि छ,’ उनले सम्वादका क्रममा भने।
मन्त्री आलेको प्रस्तावमा सलमान खानले सहमति जनाएका थिए। मन्त्री आलेले कोभिडपछि नेपाल पूर्णरुपले खुला भइसकेको र पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै अभिनेता खानलाई सर्वोच्च शिखर सगरमाथा चढ्नका लागि प्रस्तावसमेत गरेका थिए।
मन्त्री आलेले नेपाली जनता र आफू पनि अभिनेता खानको ठूलो फ्यान भएको बताए। उनले सलमान खानलाई मैने प्यार किया, तेरे नामजस्ता फिल्म हेरेको स्मरणसमेत गराएका थिए। ‘मैले तपाइँ अभिनित मैने प्यार किया हेरेको छु। त्यतिबेला म मुम्बईमै थिएँ। तेरे नाम पनि धेरै राम्रो फिल्म थियो,’ उनले भने।
जवाफमा सलमानले धन्यवाद दिएका थिए। उनले आफू पनि नेपालमा पहिलोपटक फिल्म बुलन्दको सुटिङका क्रममा आएको स्मरण गराएका थिए। तर फिल्म रिलिज्ड हुन नसकेको उनले बताएका थिए। दबंग टूर पनि विभिन्न कारणले स्थगित हुन पुग्दा आफू दुखित भएको सलमानले बताए। ‘दबंग टूर’मार्फत् नेपाल आउन चाहे पनि विभिन्न कारणले स्थगित हुन पुगेको थियो। आशा गरौं, यसपटक नेपालीलाई मनोरञ्जन प्रदान गर्न सकूँ,’ उनले भने।
मन्त्री आलेले नेपालमा सबैजनाले खोप लिइसकेकाले ढुक्क हुन सलमानलाई आग्रह गरेका थिए।