बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

५ बर्ष अलमलिएको बुढानिलकण्ठमा परिवर्तन आवश्यक र अनिवार्य


  • लेखक दामोदर (बद्री) भट्टराई
  • मंगलबार, चैत्र ८ २०७८
4.2K
SHARES

लेखक दामोदर (बद्री) भट्टराई

काठमाडौँको केन्द्रमा रहेको बुढानीलकण्ठलाई चारनारायण मध्येको एक नारायणका रूपमा चिन्ने गरिन्छ । नेपालको अन्तर्राष्ट्रिय विमान स्थल बाट करिब ६ देखी ७ किलो मिटरको मात्रै दुरी रहेको यस नगरपालिकामा सहजै यातायातका हर कुनै साधनबाट भ्रमण गर्न सकिन्छ । करिब ९९ प्रतिशत स्थानमा आवतजावत गर्नको लागि बुढानीलकण्ठ नगरपालिका सहज गन्तव्य हो । ब्राह्मण तथा क्षेत्री समाजका खड्का, थापा, खत्री , केसी, अधिकारीका साथै तामाङ अनि नेवारी समुदायको बाहुल्यतामा विकासको फड्को मादै आएको नगरपालिका अहिले समावेशी र सद्भावका दृष्टिले समेत महत्त्वपूर्ण परिचयका रूपमा स्थापित रहेको छ ।

खेती, किसानीबाट सुरुवात भएको यस नगरपालिका भित्र हजारौँ संख्यामा निजामती तथा राज्यको विशिष्ट स्थानहरूमा कार्य गर्ने समुदायको संख्या दिनानुदिन बढ्दाे रुपमा छ । राज्य सञ्चालनको मुख्य केन्द्रमा रहने प्रधानमन्त्रीदेखी राष्ट्रपतिसम्मको बसोबास रहेको यस नगरपालिका वर्तमान अवस्थासम्म आइपुग्दा अति सामान्यदेखी अति विशिष्ट स्तरका समुदायहरूको बसोबास रहने क्षेत्रका रूपमा परिचित छ ।

राजनैतिक रूपमा २०४६ साल ताका डेमोक्रेटिकहरुको बाहुल्यता रहेको पनि वर्तमान सन्दर्भमा कम्युनिस्ट विचारधारा राख्नेहरूको संख्यामा पनि उल्लेख्य वृद्धि रहेको पाइन्छ । सशस्त्र द्वन्द्व पश्चात् कपन, महांकाल हुँदै हाल साबिकका ६ वटै गाविस अन्तर्गत पर्ने क्षेत्रहरूमा बसाइसराई गरी आउनेहरूको ठुलो जनसंख्या रहेको छ ।
धार्मिक आस्थाका रूपमा हिन्दु, बौद्ध तथा सनातनीहरूको उल्लेख जनघनत्व रहेको छ । क्रिष्टियन समुदायको पनि महत्त्वपूर्ण बसोबास रहेको छ । भौगोलिक र पर्यटकीय दृष्टिकोणले अद्धितिय रहेको यहाँको सौन्दर्यता भने क्रमशः ह्रास हुँदै गइरहेको छ । अनियन्त्रित बसोबास, व्यवसायका नाममा सार्वजनिक सम्पत्तिको दोहन तथा आवश्यकता भन्दा पर भौतिक निर्माणको लागि गरिएको रस्साकस्सी मुख्य समस्या हो ।

इतिहासदेखी हाल नगरपालिका गठन भइसके पश्चात् सम्मको राजनैतिक रस्साकस्सी र उपलब्धिमा भने यस क्षेत्र कमजोर नै रहेको पाइन्छ । स्थापित राजनैतिक दलको जिल्ला, प्रदेश तथा केन्द्रमा महत्त्वपूर्ण भूमिकामा यहाँको नेतृत्व प्रवेश गर्न सकिरहेको छैन । एक अर्का प्रति राजनैतिक सम्मान भएता पनि नेतृत्वको पहुँचमा पुग्न नसक्नु चाहिँ यहाँको महत्त्वपूर्ण कमजोरी रहेको पाइन्छ । प्रजातान्त्रिक विचारधारा बोक्नेहरूले गणेशमान सिंह, किसुनजीसंगको सामीप्ययता पाएको भए पनि उपलब्धिका रूपमा भने क्याबात भन्ने अवस्था पक्का देखिँदैन । कम्युनिस्ट आन्दोलनका लागि पनि काठमाडौँको यस भेग उपलब्धिमूलक देखिएको पाइँदैन । राप्रपा पार्टीको पनि महत्त्वपूर्ण जग भएको स्थानमा पर्ने यस क्षेत्रले चाहेजस्तो नेतृत्व तहमा पुग्न सकिरहेको छैन । यद्यपि वर्तमान अवस्थामा भने सम्भावनाका ढोकाहरू पक्का खुलेका छन् ।
एक लाख दश हजार भन्दा बढीको जनसंख्या रहेको नगरपालिकाको मुख्य जनशक्ति भनेको युवा समूह हो । १६ देखी ४० वर्ष सम्मका युवाहरू ४८ प्रतिशत भन्दा बढी रहेको पाइन्छ । ९९ प्रतिशत साक्षरता देखिने यो नगरपालिकामा ५ प्रतिशत विद्यार्थीहरू अति न्यून आय भएकाहरू मध्येमा पर्दछन् । स्थापनाको ५ वर्षमा नगर कार्यपालिकाले रु २६ लाख बजेटबाट सुरुवात भएको आर्थिक मापन २०७९ सम्मको अवस्थामा करिब ३ अर्ब हाराहारी पुग्न लागिसकेको छ ।

नगर स्थापनाको यो समय अवधिमा बजेटमा देखिएको यस प्रकारको बहावमा स्थानीय समाज र नगरपालिका भने कहीँ कतै निकै अलमलमा परेको स्पष्ट बुझ्न सकिन्छ । बजेट कार्यान्वयनका सन्दर्भमा व्यक्ति खुसी पार्ने प्रयासमा कराेडाै रकमहरू अनुत्पादक क्षेत्रमा लगानी भएको सहजै देखिने अवस्था छ । यो कहीँ कतै दोषारोपण भन्दा पनि बसेर निर्मम समीक्षा गर्ने हो भने विगतको पाँच वर्ष सामान्य कर्म, अधिक बहस अनि उच्च महत्वकांक्षाका अक्षरहरूमा हामी अड्किएको हजारौँ प्रमाण जुटाउन सकिन्छ ।

पछिल्लो ४ वर्षमा यहाँको जनघनत्वमा ७० हजारले वृद्धि भएको सरकारी आँकडामा देखिन्छ । यही अवस्थाको सामान्य चित्रण गर्ने हो भने वर्ष वि.स.२०८४ मा यहाँको जनसंख्या २ लाख ५० हजार भन्दा बढी हुने पक्का छ । दिनप्रतिदिन ह्रास हुँदै गएको यहाँको प्राकृतिक स्रोतसाधन, साँघुरा बाटाबहरु, सार्वजनिक जग्गा तथा खाली स्थानहरूमा निर्माण भइरहेका कङक्रिट पूर्वाधारहरू अनि कृषियोग्य जमिनहरू प्लटिङका रूपमा अनुत्पादक रूपमा प्रयोग हुने अवस्थालाई नीति नियम मार्फत सही मार्गमा ल्याउन नसकेको खण्डमा भयावह हुने अवस्था रहेको छ ।

विकासको मोडलमा पुरातन सोच, नयाँ पुस्ता र प्रविधिमैत्री समाजसँग सिक्न नखोज्ने नेतृत्व अनि नीति नियमबाट टाढा भागेर राज्यको सम्पत्तिलाई व्यक्ति खुसी बनाउने अर्थव्यवस्थाको मोडल साथै निर्वाचन जित्न प्रयोग गरिने पुरानै कार्यशैली मार्फत यस नगरपालिकाले चाहेको विकास अनि परिवर्तन सम्भव छैन ।

कुनै पनि क्षेत्र वा नगरको समृद्धि भनेको त्यहाँको न्यूनतम आधारभूत आवश्यकता अनि रोजगारी आजको बहस हो । जबसम्म आर्थिक विकास सम्भव छैन तबसम्म समृद्धि केबल सपना मात्रै हो । त्यो पनि कालरात्रि सपना हो । यसर्थ विकासको मोडलमा यस नगरपालिकाको भावी नेतृत्व, नेतृत्वको क्षमता दलीय सक्रियताका सम्बन्धमा चेतनायुक्त मनस्थितिबाट बहस र संवाद गर्नु अनिवार्य छ । विकासका नाममा गरिएका कङक्रिट व्यवस्थापन अनि कनिका छरेझैँ छरिएका बजेटबाट उपलब्धि कम बहस उच्च हुने हजारौँ प्रमाणहरू सँगै राखेर बहस गर्नु जरुरी छ ।

व्यवस्थाको बदलाव बाट बनेको बुढानीलकण्ठको वर्तमान अवस्था परिवर्तन केबल सामाजिक सञ्जाल अनि सञ्चार माध्यममा होइन प्रत्येक नागरिकको घर आँगनमा हुनु जरुरी छ ।

५ वर्ष ११ अर्ब अलमलिएको मात्रै । वर्तमान र भविष्य , यस कारण म मेरो दावेदारी हो ।

यस प्रकार सामर्थ्य, सम्भावना र चेतनाको स्तरका आधारमा बुढानीलकण्ठ नगरपालिका देशको हेर्न लायक, गौरव गर्न लायकको नगरपालिका निर्माणका सम्भावना र चुनौतीका विषयमा तल्लो तहसम्म बहस पैरवी गर्नु अनिवार्य छ ।

(लेखक दामोदर (बद्री) भट्टराई काठमाडौँ क्षेत्र नम्वर ४ नेपाली कांग्रेसका सचिव हुन् ।)


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा