काठमाडौं – नेकपा एमालेका नेता टोपबहादुर रायमाझीकाे हरिबिजोग हुने भएकाे छ। माओवादी छाडेर एमाले प्रवेश गरेका उनलाई आगामी निर्वाचनमा हरिबिजोग बनाईदिने भएका हुन् ।
माओवादीमा रहँदा संविधानसभाको दुवै निर्वाचन आफ्नै बलमा जितेका थिए ।२०७४ सालको निर्वाचनमा एमालेसँगको तालमेलमा करिव १८ हजार मतान्तरमा उनी अर्घाखाँचीबाट सांसद निर्वाचित भए ।
अहिले परिस्थिति बदलिएको छ । रायमाझीले माओवादी केन्द्र छाडेर एमाले रोजेका छन् भने अब उनी ‘सूर्य’ चुनाव चिह्न लिएर जनतामा जानुपर्नेछ ।अर्कोतिर नेकपा एमाले पनि विभाजित भइसकेको छ ।
माओवादीमा रहँदा तीन पटक चुनाव जितेका उनलाई अबको चुनाव जित्न कति सहज होला त भन्ने प्रश्न स्वाभाविक रुपमा उब्जिएको छ । किनकि सत्तारुढ गठबन्धनबीच अर्घाखाँचीमा चुनावी तालमेल गर्ने निर्णय भएको छ ।
माओवादीमा रहँदा प्रभावशाली भूमिकामा रहँदै आएका रायमाझी एमाले र माओवादीबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपा सर्वोच्च अदालतको आदेशबाट विघटन भएपछि भने एमालेमै रहने निर्णयमा पुगे ।
त्यतिबेला नै उनको राजनीतिक भविष्यमाथि अड्कलबाजी सुरु भएको थियो ।झन् अहिले अर्घाखाँचीमा ५ दलीय गठबन्धनले आपसमा तालमेल गरेर निर्वाचनमा जाने जिल्लास्तरीय सहमति गरेपछि एमालेका सचिवसमेत रहेका रायमाझीको चुनावी भविष्यमाथि विभिन्न अड्कलबाजी सुरु भएको छ ।
एमालेमा पार्टीको सचिव बन्न सफल भएका रायमाझीलाई तीनै तहको निर्वाचनमा पाइला पाइलामा ठेस लगाउने रणनीति नेपाली काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनमोर्चाले बनाएका छन् ।
यद्यपि एमालेको संगठन बलियो नै मानिएको अर्घाखाँचीमा रायमाझीले आफूसँगै माओवादीबाट तत्कालीन राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का लगायत नेताहरुलाई एमालेमा लगेर आफ्नो राजनीतिक यात्रालाई मजबुत देखाउने प्रयास गरेका छन् ।
यसबीचमा नेकपा एमाले पनि विभाजन भइसकेको छ । पार्टी विभाजनले एमालेमा कस्तो असर गर्ला भन्नेबारे अहिले नै भन्न सकिने अवस्था छैन ।
अर्कोतिर, एमालेका जिल्लास्तरका सबैजसो कार्यकर्ताले रायमाझीलाई नेता मान्ने वा एमालेका मतदाताले विश्वास गर्छन् कि गर्दैनन् भन्ने पनि परीक्षण भइसकेको छैन ।यो अवस्थामा स्थानीय तहको निर्वाचनले धेरै कुरा प्रस्ट पार्ने देखिन्छ ।
अहिले सत्तारुढ गठबन्धनका तर्फबाट अर्घाखाँची जिल्लास्तरमा भएको समझदारी तीनै तहको चुनावसम्म कायम रहने हो भने यसले पनि धेरै ठुलो प्रभाव पार्न सक्छ । त्यो अवस्थामा रायमाझीलाई चुनाव जित्न पक्कै सहज हुनेछैन ।
यद्यपि गठबन्धन घटकका जिल्लास्तरका नेताले गरेको सहमतिलाई केन्द्रले मान्छ कि मान्दैन भन्ने हेर्न बाँकी नै छ ।
नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहानले गठबन्धनमा कुनै गडबड नहुने दावी गरे ।
पद बाँडफाँटमा दलीय स्वार्थभन्दा माथि उठेर तीनै तहका निर्वाचनसँगै संघ संस्थाहरुका निर्वाचनमा पनि मिलेर जाने लिखित सहमति भएको रातोपाटीलाई बताए ।
उनले नेपाली काँग्रेसका जिल्ला सभापतिदेखि लिएर प्रदेश महामन्त्रीसम्म बसेको बैठकले गरेको निर्णयमाथि शंका नगर्न आग्रह गरे । अन्य ठाउँमा गठबन्धन नभए पनि अर्घाखाँचीमा जिल्लामा सहज रुपमा सत्तारुढ गठबन्धनबीच तालमेल हुने उनको दाबी छ ।