काठमाडौं । स्थानीय चुनावमा सहभागी हुने कि नहुने भन्ने विषयमा भएको बिबाद सतहमा पुगेसँगै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा फुट्ने सम्भाबना देखिएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय बैठकमा औपचारिक रुपमै चुनावमा सहभागी हुने प्रस्ताव राखेपछि पार्टीमा विवाद बढेको हो ।
दुई दिनसम्म काठमाडौंमा चलेको पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्ताव नै अल्पमतमा पर्यो । पार्टीका एक केन्द्रीय सदस्यका अनुसार चुनावमा सहभागी हुने प्रस्तावको पक्षमा विप्लवसँगै पार्टी प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ र चुनावमा विपक्षमा हेमन्तप्रकाश ओली ‘सुदर्शन’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ उभिए । सचिवालय सदस्य सन्तोष बुढा मगर दुवै पक्षमा नखुलेपछि सचिवालय बैठकमा विप्लवको प्रस्ताव अल्पमतमा पर्यो । दुई दिनसम्म बसेको बैठक विनानिष्कर्षमै टुंगियो । आफ्नो प्रस्ताव अल्पमतमा परेपछि विप्लवले दुवै पक्षमा नखुलेका सन्तोष बुढालाई सँगै गाडीमा लिएर कपिलबस्तु हिँडे ।
शुक्रबारका लागि तय भएको नेकपाको केन्द्रीय समिति बैठकमा पार्टी महासचिव विप्लवले चुनावी प्रस्ताव पेश गर्ने र त्योभन्दा पहिले सचिवालयमा एकमत बनाउने प्रयास गरेका थिए । कपिलबस्तुमा बुधबार पुनः सचिवालय बैठक बस्ने भनिए पनि पार्टी प्रवक्ता प्रकाण्ड काठमाडौँ रहेका कारण बिहीबारसम्मका लागि बैठक स्थगित भएको थियो ।
विप्लवले बैठकमा पार्टी शान्तिपूर्ण राजनीतिमा आइसकेको र जनताबाट अलग्गिने भन्दै चुनावमा सहभागी हुनुपर्नेमा जोड दिएको एक सचिवालय सदस्यले बताए । महासचिव विप्लवको प्रस्तावको विपक्षमा रहेका सुदर्शन र कञ्चन अहिले क्रान्तिकारी शक्ति कमजोर भएको र चुनावको नतिजा जनताको पक्षमा नआउने बुझाइमा छन् । बैठकमा उनीहरुले दोस्रो संविधानसभाको निर्वाचनसहित त्यसपछिका निर्वाचन बहिस्कार गरेको औचित्य पुष्टि नहुने बताएका थिए । विप्लवको प्रस्ताव अनुसारै चुनावमा जानुपर्नेमा प्रवक्ता प्रकाण्डले भने जोड दिएका थिए ।
विप्लवले अलग–अलग गरेको छलफलमा चुनावमा जान तयार भए पनि बैठकमा बुढामगरले चुनावी नतिजा जनताको विपक्षमा आउने मत राखेका थिए । नेता बास्तोलाले तीन बुँदे सहमति कार्यान्वयन नभएको अवस्थामा चुनावमा जानु प्रतित्पादक हुने बताउँदै चुनावमा सहभागी हुन भए अहिलेसम्म बहिस्कार गरेको औचित्य पुष्टि गर्नुपर्ने धारणा राखेका थिए ।
अर्का सचिवालय सदस्य सुदर्शनले पार्टीका नेता कार्यकर्ता अझै पनि जेलमै रहेको र जनमत संग्रहको नारा लगाएर संसदीय व्यवस्थाको चुनावमा जानु राजनीतिक बेइमानी हुने धारणा राखेका थिए । यता ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकता वा सहकार्य नहुने निष्कर्ष नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बताएका छन् । राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यस्तो निष्कर्ष उनले पार्टी केन्द्रीय कमिटी बैठकमा बताएका हुन् ।
विप्वले प्रचण्डको कडा आलोचना गर्दै क्रान्तिमाथि धोकाबाजी गरेको आरोप समेत लगाए । प्रचण्ड र बाबुरामको नाम नै उल्लेख गरेर उनले लेखमार्फत् भनेका छन्, ‘हामी लड्दैछौं, तिमीहरुले दिएको धोका बेइमानी, साम्राज्यवाद र संसद्वादले दिएको धोका सबैलाई पचाएर सर्वहारा वर्ग र कम्युनिस्टहरुलाई विजयी तुल्याउने गरी सशस्त्र क्रान्तिको तयारी गर्दैछौं ।’
प्रचण्डको क्रान्तिकारी विचार र सोच सकिएको विप्लवको ठहर छ । उनले भनेका छन्, ‘नेपाली क्रान्तिमा बल प्रयोगको आवश्यकता सकिएको नभई प्रचण्डको क्रान्तिकारी विचार र सोच सकिएको हो ।’
प्रचण्डले विगतमा सशस्त्र गतिविधिको विरोध गर्नेलाई विभिन्न आरोप लगाउने गरेको समेत विप्लवले खुलासा गरेका छन् । उनले भनेका छन्, ‘जनयुद्धका समयमा सशस्त्र संघर्षको विरोध गर्नेहरु प्रचण्डको दृष्टिकोणमा साम्राज्यवादीका पाले र प्रतिक्रियावादी तत्वहरु हुन्थे ।’ आफूले सशस्त्र गतिविधि गर्दा क्रान्ति भन्ने र विरोधीलाई ठेगान लगाउने गरेको समेत आरोप लगाएका छन् । प्रचण्डले देशभित्र युद्ध लडाएर भारतमा वार्ता गरेको टिप्पणी समेत गरेका छन् । उनले भनेका छन्, ‘हामी प्रचण्डको जस्तो नेपालमा युद्ध लडाएर भारतमा वार्ता गर्ने नक्कल त गरेका छैनौं नि !’