काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी पास भए लगत्तै नेपाल आएको अमेरिकी सेनाको जहाज काठमाडौं ओर्लिएपछि तरंग नै पैदा भयो । तर यसअघि पनि अमेरिकी सेनाको जहाज आउने गरेको एयरपोर्ट प्रशासनले जनाएको छ ।
यसैबीच, अमेरिकी वायुसेनाको कार्गो सामान बोक्ने ठूलो जहाज अबको केही दिन नियमितजसो काठमाडौं ओर्लने सूचना सार्वजनिक भएको छ । यही क्रममा आज कूटनीतिक ३३ वटा पार्सल छाडेर फर्किएको हो ।
आज बिहान उक्त जहाज थाइल्याण्डको राजधानी बैंकक हुँदै काठमाडौं आएको हो । उक्त जहाज बिहान सवा नौ ९ बजे अवतरण गरेर केही बेरमै फर्केको हो । ‘डिप्लोम्याटिक पार्सल’ बोकेर आएको भनिएको उक्त विमान र अन्य विवरण गोप्य राखिएको छ ।
युएस एअरफोर्सको आरसीएच १८१६ कल साइन भएको आजको चार्टर उडानमा यात्रु नभए पनि चालक दलका सदस्यहरुको संख्या १७ जना रहेको बताइन्छ ।
आज उडानबाट अमेरिकी दूतावासको ३३ वटा प्याकेज झारिएको थियो । ती सबैको तौल १२ सय केजी भएको भन्सार कार्यालय स्रोतले बतायो । विमानबाट सामान झार्नेबित्तिक्कै दूतावासका प्रतिनिधिले बुझेर लगेका थिए ।
उक्त विमानले अरु केही दिन नियमित रुपमा नेपालमा त्यस्तो सामान ल्याउने विमानस्थलमा खटिएका नेपाल वायुसेवा निगमका एक जना कर्मचारीले बताए ।यता गृहमन्त्री बालकृष्ण खाँडले एमसीसी परियोजनाअन्तर्गत् नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम भएको बताएका छन्।
अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उनले कुनै पनि देशको सेना आए आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताए।
कपिलवस्तुको वाणगङ्गा नगरपालिका जितपुरमा १२औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा गृहमन्त्री खाँणले एमसीसी परियोजना विद्युत् र सडकको परियोजना रहेको स्पष्ट गरे। उनले जलस्रोतको धनी मुलुक नेपालमा ठूला र साना गरी छ हजार नदी भए पनि पूर्णरूपमा जलविद्युत् उत्पादन गर्न नसकेको बताए।
वर्षायाममा धेरै विद्युत् उत्पादन भई खेर जाने समस्या छ, हिउँदमा नपुगेर भारतबाट ल्याउनु परेको छ। नेपालमा उत्पादन भएको विद्युत् बाहिर बिक्री गर्न सकिए व्यापार घाटा कम हुन्छ, उनले भने। उनले सरकार व्यवसायीमैत्री रहेको हुँदा उद्योग व्यवसायीको समस्यामा सहयोग गर्ने सरकारको दायित्व रहेको बताए।
सरकार र जनता एउटै सिक्काको दुई पाटो रहेको जनाउँदै उनले सबैलाई सहयोग गर्ने विश्वास साट्न चाहेको बताए। कपिलवस्तु महोत्सव चैत १३ सम्म चल्नेछ।