निर्वाचनको मिति नजिकिँदै गर्दा पार्टीहरू आफ्नू तयारीमा जुटेका छन् । अहिलेको गठबन्धन सरकार छ । निर्वाचन सम्मै गठबन्धनलाई निरन्तरता दिने विषयमा काँग्रेसका केही नेताहरू असन्तुष्ट भएको खबर बाहिरिने गरेको छ । गठबन्धनलाई निरन्तरता दिने बहस भएको समयमा माओवादी केन्द्र र एमाले मिल्नु पर्छ भन्ने बहस पनि सुरु भएको स्रोत बताउँछ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मिलाउने पहलले गति लिन थालेको बजार हल्ला छ । दुवै दलका मध्यम तहका नेताहरूले भित्र भित्र यस्तो पहल थालेको स्रोतको भनाई छ ।
निर्वाचन नजिकिँदै जाँदा कम्युनिस्ट पार्टीहरू विभाजित छन् । २०७४ को प्रतिनिधि सभा र प्रदेश सभामा तालमेल गरेर चुनाव लडेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र यति बेला एक अर्काको कट्टर विरोधी देखिएका छन् । एमाले समेत फुटेर नेकपा एकीकृत समाजवादी पार्टी बनेको अवस्था छ ।
यस्तो अवस्थामा सत्ता गठबन्धनको प्रमुख नेतृत्वकर्ता पार्टीले गठबन्धनसहित चुनावमा नजाने निर्णय गरेको खण्डमा प्रचण्ड नृतत्वको पार्टी समाप्त हुने अवस्थामा रहेको देखिन्छ । त्यस्तै एमालेबाट फुटेर बनेको समाजवादी पार्टीको अवस्था पनि जनतामा कमजोर देखिन्छ ।
२०७४ को चुनावमा कम्युनिस्टहरू एक भएर प्रतिस्पर्धामा उत्रँदा बहुमत ल्याउन सफल भएका थिए । तर, फुटेपछि भएको राष्ट्रिय सभाका निर्वाचनहरूमा एमालेले धक्का खाएको छ । यस कारण एमालेकै केही नेता कम्युनिस्ट एकतामा सक्रिय भएको बुझिएको छ ।
एमाले बाट अलग भएर बनेको समाजवादी दल सँग भने ओली कुनै पनि हालतमा झुकेर तालमेल नगर्ने मनसायमा रहेको स्रोतको भनाई छ । अहिलेकै अवस्थामा कम्युनिस्टहरू एक हुने नदेखिए पनि आगामी दिनमा माओवादी र एमाले मिल्न सक्ने सङ्केत देखिन थालेको राजनीतिका जानकारहरू बताउन थालेका छन् । यसमा सत्ताको नेतृत्वको कर्ता कांग्रेस पार्टीको भूमिकाले पनि कम्युनिस्टहरू मिल्ने र नमिल्नेमा भूमिका खेल्ने देखिन्छ ।
यदि माओवादी र एमाले मिलेको खण्डमा एमाले बाटै फुटेर जन्मेको समाजवादी पार्टीको अवस्था चुनावमा कमजोर देखिन्छ । दुई कम्युनिस्ट माओवादी र एमाले साँच्चै तालमेल गरे भने नेपाली काँग्रेस पार्टीलाई समेत अप्ठ्यारो पर्ने जानकारहरू बताउँछन् ।