शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

चुनाव अगावै गठबन्धन फुट्ने संकेत, माओवादीले किन दियो कांग्रेसको हालत ओलीको जस्तै बनाइदिने चेतावनी ?


  • शुक्रबार, चैत्र ४ २०७८
7.2K
SHARES

फाइल तस्विर

काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसीले फुटबाट बालबाल बचेको सत्ता गठबन्धन फेरि फुटको दिशातर्फ अघि बढेको राजनीतिक परिदृश्यहरु देखिन थालेका छन् । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका चर्चित नेताहरु नै सत्तासहयात्री दलको खोइरो खन्दै सत्तोसराप गर्न थालेपछि माओवादी र समाजवादीका नेताहरु पनि बिच्किएका छन् ।

यसैबीच नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले पाँच वर्षका लागि सडकमा पछारिएको कांग्रेसलाई आफूहरुले सत्तामा पुर्‍याएको टिप्पणी गरेका छन्। तर, आफूहरुले बुइ चढाएर सडकबाट सत्तामा पुर्‍याएको कांग्रेसका केही नेतामा उन्माद देखिएको भन्दै पुनले आक्रोश व्यक्त गरे।

उनले माओवादी केन्द्र र सत्ता गठबन्धन आवद्ध अरु दललाई सार्वजनिक टिप्पणीमार्फत हेप्न र अपमान नगर्न चेतावनी दिए। केपी ओली नेतृत्वको सरकार ढालेको तर्फ ईंगित गर्दै पुनले सत्तामा रहेकालाई सडकमा र सडकमा रहेकालाई सत्तामा पुर्‍याउने हैसियत आफूहरुको रहेकाले विचार गरेर बोल्न आग्रह गरे।

‘पाँच वर्षका लागि सडकमा पुगेको कांग्रेसलाई बुइ चढाएर हामीले सत्तामा पुर्‍याएका हौँ। आज केही कांग्रेस नेताहरुमा सत्ता उन्माद देखिएको छ’, माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले भने, ‘कांग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेका छन्।

हामी सरकार बनाउन सक्छौँ, भत्काउन सक्छौँ। सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्‍याउने ताकत हामीसँग छ। यो कांग्रेस नेताहरुले बुझ्न जरुरी छ।’

उनले चुनावी गठबन्धनविरुद्ध रहेका कांग्रेस नेतालाई चार वर्षअघि फर्किएर ०७४ को निर्वाचन परिणाम स्मरण गर्न सुझाव दिए। आफ्नो वास्तविक शक्ति सम्झिएर के बोल्नेरके नबोल्नेबारे विचार गर्न आग्रह गरे। पुनले केपी ओलीमा सत्ता उन्माद चढेपछि उनले भोगेको हविगतबाट पाठ सिक्न कांग्रेस नेतालाई सुझाए।

उनले माओवादी केन्द्र कसैसँग तालमेल नगरी आफ्नै बलमा निर्वाचन लड्न र जित्न सक्षम रहेको दाबी उनले गरे। स्थानीय तह र संघीयताका लागि माओवादी लडेको चर्चा गर्दै पुनले त्यसको नेतृत्व गर्न पनि माओवादी सक्षम साबित भएको दाबी गरे। यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेर निर्वाचन जित्छौं भन्ने सोच हटाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रचण्डले आफ्नै तागतको बलमा चुनाव जित्ने आत्मविश्वास लिनुपर्ने बताए । माओवादी आक्रामक भएर चुनावमा गएमात्र जित्ने भन्दै उनले रक्षात्मक मात्र भएर चुनावमा जाँदा सोचे अनुसार नतिजा नआउने जिकीर गरे ।

सेटिङ गरेर चुनाव जित्न कांग्रेस–एमाले नै सिपालु भएको बताउँदै अध्यक्ष प्रचण्डले जालझेल र सेटिङमा पार्टीलाई विश्वास नभएको तर्क गरे । आउने निर्वाचनमा माओवादीलाई परास्त गर्ने र कतिपय साम्राज्यवादी देशमा जस्तै नेपालमा पनि दुई पार्टी सिस्टम लागू गर्ने षड्यन्त्र भइरहेको उनको दाबी छ ।

नेपालमा दुई बुर्जुवा पार्टी पालैपालो शासन गर्ने, अरु परिवर्तनकारी पार्टी सिध्याउने षड्यन्त्र भइरहेको भन्दै प्रचण्डले आउने सबै निर्वाचन पार्टीका लागि सामान्य औपचारिक निर्वाचनमात्रै नरहेको बताए । माओवादीका लागि आउँदो निर्वाचन जीवन मरणको लडाइँ भएको उनको जिकीर छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा