शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

नगर प्रमुखको उम्मेदवारी घोषणा गर्ने तयारीमा विनोद चालिसे, यसरी बन्दै छन् कांग्रेस भित्रको सर्वसम्मत उम्मेदवार


  • शुक्रबार, चैत्र ४ २०७८
21.5K
SHARES

काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट बुढानीलकण्ठ नगरपालिकाको नगर प्रमुखको लागि युवा नेता विनोद चालिसे उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका छन् । केही दिन अगाडी मात्र धुम्बाराहीमा रहेको एक होटेलमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उक्त तयारी बारे जानकारी गराएका हुन् ।

पत्रकार र चालिसे बिच ‘समुन्नत बुढानीलकण्ठ र सम्मानित बुढानीलकण्ठवासी’ बनाउने सन्दर्भमा भष्यिपरक दृष्टिकोणका साथ २ घण्टाभन्दा बढी समय अन्तर–संवाद भएको थियो । नगरको बहु आयामिक विकास र सुशासन स्थापित गर्ने सन्दर्भमा समेत छलफल केन्द्रित रहेको थियो ।

बुढानीलकण्ठ नगरलाई प्राथमिकता दिएर रिपोर्टिङ गर्ने सञ्चार गृहका संस्थापक तथा प्रतिनिधिहरुसंगको उक्त भेटमा नगर प्रमुख बन्न सबै कुराले आफू योग्य रहेको बताए । आफ्नो दल भित्र पनि आकांक्षी साथीहरू बिच बृहत् सहमति, सहकार्य र समझदारी निर्माण गर्दै एकताका साथ आगामी चुनावमा पार्टी विजयको योजनाको स्पष्ट मार्ग चित्र निर्माण गर्दै अगाडी बढ्ने कुरामा विश्वस्तता देखाए ।

पार्टीका अग्रजहरूले दिनु भएको सल्लाह, सुझाव एवं सुभेच्छालाई मध्यनजर गर्दै मेयरको उम्मेदवारी भने केही दिनमै आफ्ना स्पष्ट योजना सहित घोषणा गर्ने जनाए ।
‘नेपाली कांग्रेसका लागि यस पटकको स्थानीय तहको निर्वाचन विशेष छ । राष्ट्रिय राजनीतिमा पार्टीले खेलेको भूमिकाले देश भरबाटै सकारात्मक परिणाम आउने कुरामा हामी विश्वस्त छौँ ।’ चालिसे भन्छन्, ‘बुढानीलकण्ठ नगरपालिकाको हक भन्नु पर्दा अघिल्लो पटक केही प्राविधिक कारणले हाम्रा उम्मेदवार राजु श्रेष्ठले पराजय बेहोर्नु पर्‍यो । हामीले दोस्रो स्थानमा हासिल गर्‍यौ । यस पटक अघिल्लो पटक भएका कमी कमजोरीलाई नदोहर्‍याउने प्रण लिनु पर्छ ।’

उनले भने, विगतमा मैले खेलेको भूमिकालाई मध्यनजर गर्दै नगरका पार्टी पङ्क्तिमा भएका साथीहरूले तपाई हुनुपर्छ भन्ने सुभेच्छा जाहेर गर्नु भएको छ । जसका लागि उम्मेदवार बन्न योग्य ठानेको छु । पार्टीका साथीहरूबाट सर्वसम्मत उम्मेदवारी चयन हुनेमा विश्वस्त छु ।

कांग्रेसको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिभन्दा बाहेक कुनै पदमा तपाई हुनु भएन, यस कारण आफूलाई मेयरको उम्मेदवारमा उभ्याउन चाहनु भएको हो ? भन्दै सञ्चारकर्मीले प्रश्न गरेको थिए । यसमा उनले सो कुराको खण्डन गरे । उनले भने, म नेपाली कांग्रेसको सच्चा सिपाही हुँ । पदमा रहनै पर्छ भन्ने मान्यता म मा छैन । पद मेरो लागि गौण कुरा हो । परिणाममुखी कार्यका लागि ‘उचित व्यक्ति, उचित ठाउँ’ हुन पर्दछ भन्ने हो । विपक्षी पार्टीहरूसँग प्रतिस्पर्धा गर्ने सन्दर्भमा स्पष्ट दृष्टिकोण, विचार, रणनीति र कार्य योजनामा आम मतदाताहरू बिच बहस, अन्तरक्रिया, छलफल चलाउन जरुरी रहेको र सो कुरामा आफू र आफ्नो पार्टी तयार रहेको चालिसेले बताए ।

को हुन् विनोद चालिसे ?

२०४६ सालदेखि प्रजातन्त्र पाप्तिको आन्दोलनदेखि राजनीतिमा होमिएका विनोद चालिसे कपनका स्थानीयवासी हुन् ।

२०४८ सालको संसदीय निर्वाचन नेपाली कांग्रेस पार्टीलाई विजयी बनाउन आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान गरेका थिए ।

२०५० सालदेखि नेबि संघ गाउँ कमिटी सचिव, क्षेत्रीय सभापति, जिल्ला सदस्य, जिल्ला सहसचिव लगायत २०५३ सालमा नेबि संघको तर्फबाट विश्व भाषा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित भएका थिए ।

तत्कालीन क्षेत्रीय सभापति परशुराम पोखरेलको कमिटीमा आमन्त्रित सदस्य भई काम गरिसकेका चालिसे तत्कालीन गाउँ विकास समितिको इकाई सभापति, बुढानीलकण्ठ नगर कमिटी सचिव, क्षेत्र नम्बर ४ को सचिव, प्रदेश ‘ख’ क्षेत्र नम्बर ४ को सभापति हुँदै पार्टीको १४औँ महाधिवेशनका लागि सङ्घीय महाधिवेशन प्रतिनिधिमा समेत निर्वाचित भए ।

व्यवस्थापन विषयमा स्नातकोत्तर तथा शिक्षा शास्त्रमा स्नातकसम्म अध्ययन गरेका चालिसेले विद्यालय तथा कलेजमा लामो प्राध्यापन समेत गरे ।

उनको अर्को व्यक्तित्व कवि तथा गीतकारको रूपमा पनि चिन्ने गरिन्छ । ‘तिम्रो आँखाको आकाश’ कविता संग्रह तथा ‘मनको धुन’ गीति एल्बम बजारमा आइसकेको छ । उनको नयाँ गजल तथा गीति संग्रह पनि प्रकाशोन्मुख रहेको छ ।

सामाजिक गतिविधिको अभियान नै सञ्चालन गरेर उनको नेतृत्वमा धेरै सामाजिक कामहरू भएका छन् । वि.स. २०७२ सालको भूकम्पमा स्वयंसेवक भई काम गरे ।

कोभिड–१९ को महामारीको बिच राहत तथा स्वास्थ्य सामाग्री वितरणमा आफ्नो ज्यानको प्रवाह नगरी काम गरे । कोभिड–१९ महामारीमा उनको नेतृत्वमा पार्टीको तर्फबाट नगर विपद् व्यवस्थापनमा आर्थिक सहयोग गर्नुको साथै विपद् व्यवस्थापनमा पार्टीको महत्त्वपूर्ण भूमिका देखाएका थिए । पटक–पटक बुढानीलकण्ठ नगरपालिका भएका गलत क्रियाकलापको उत्थापन गर्दै ध्यानाकर्षण गराउने, दबाब दिने र बजेट तर्जुमा गर्ने समयमा समेत नगरको विकास, समृद्धि र सुशासनका विषयमा विविध सुझाव दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा