काठमाडौं : मतदाता परिचयपत्र हराएका वा नष्ट भएकाको हकमा निर्वाचन आयोगले पुनः परिचयपत्र बनाउन सहज व्यवस्था गरिदिएको छ । मतदाता परिचयपत्र सिफारिसका लागि कतिपय स्थानीय तहले दस्तुरसमेत लिएको भन्ने जानकारीमा आएको भन्दै आयोगले त्यस्तो परिचयपत्रका लागि कुनै शुल्क नलाग्ने प्रस्ट पारेको छ ।
आयोगले मतदाता परिचयपत्र उपलब्ध गराउने प्रयोजनका लागि निःशुल्क रूपमा सिफारिस गर्न सबै स्थानीय तहमा परिपत्र गर्ने निर्णय गरेको छ । सरोकारवाला स्वयंले आफ्नो वडा कार्यालयको सिफारिससहित मतदाता नामावली रहेको सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिने भन्ने निर्णय भएकोमा वडा कार्यालयको सिफारिससहित सम्बन्धित मतदाता स्वयं उपस्थित भई निवेदन दिएमा वा वडा कार्यालयको सिफारिस सहित इमेल वा फ्याक्स वा अन्य विधिमार्फत निवेदन दिन सकिने व्यवस्था गरेको छ ।
आयोगका अनुसार त्यसरी प्राप्त निवेदनलाई दर्ता गरी प्रक्रिया अघि बढाउन निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णयसमेत भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाएका छन् ।
आगामी वैशाख ३० मा तोकिएको स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ। वैशाख २९ गतेसम्म १८ वर्ष पुगेका नेपाली नागरिकले मतदानको अवसर पाउनेछन्।
नयाँ मतदाताका लागि मतदाता परिचयपत्र सोही बेला सम्बन्धित स्थानीय तहबाट उपलब्ध हुनेछ। निर्वाचन आयोगले मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गराउँदै छ। परिचयपत्र हराए वा नष्ट भएको भए मतदाताले जिल्ला निर्वाचन कार्यालयमार्फत पाउनेछन्। त्यसका लागि मतदाताले सम्बन्धित वडाको सिफारिस लिएर जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनुपर्नेछ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।