होलीका लागि काठमाडौं उपत्यकामा सुरक्षा दिन ३५ सय बढी प्रहरी खटिने भएका छन्।
बिहीबार हुने होलीका विभिन्न कार्यक्रमलाई मध्यनजरमा राख्दै प्रहरीले सुरक्षा व्यवस्था तयार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।
केही वर्षयता कोरोना भाइरसको महामारीका कारण होलीमा चहलपहल कम भएको थियो। तर यसपालि कुनै प्रतिबन्ध समेत नभएको हुँदा होली मनाउनेको भीड बढी नै हुने प्रहरीको आकलन छ।
त्यसैलाई मध्यनजरमा राखेर सुरक्षा व्यवस्था तयार गरेको राठौरले बताए। होलीका लागि भनेर कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पालले उपत्यकाका तीनजनै प्रमुखलाई सम्भावित घटनालाई मध्यनजरमा राखेर प्रभावकारी सुरक्षा व्यवस्था तयार गर्न निर्देशन समेत दिएको एसपी राठौरले बताए।
उपत्यकामा मात्रै ३५ सय बढी प्रहरी परिचालन गर्न लागिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंले मात्रै १७ सय बढी, ललितपुरबाट ६ सय बढी र भक्तपुरमा ४ सय बढी प्रहरी परिचालन गर्ने तयारी रहेको एसपी राठौरले बताए।
‘कोरोनाको कारण आमनागरिकले खासै होली मनाउन सकिरहेका थिएनन्। यसपालि निमिट्यान्न नै नभए पनि कम भएको कारणले यो पटक धेरै चहलपहल हुने आकलन गरेका छौं,’ उनले भने, ‘त्यसैअनुसार हाम्रो विशेष तयारी तथा सुरक्षा व्यवस्था बनेको छ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।