आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ।
युएईको शारजाहमा नेपाली समयअनुसार अहिले सवा ११ बजे सुरु हुने खेलमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको छ।
हिजोबाट सुरु भएको नेपाल, युएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक सिरिजमा युएईले विजयी सुरुवात गरिसकेको छ। युएईले हिजो भएको खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्यो।
पपुवा न्युगिनी र नेपालबीच एकदिवसीय खेलमा अहिलेसम्म दुई पटक प्रतिस्पर्धा भएको छ। गत वर्ष ओमानमा भएको दुवै खेलमा नेपाल विजयी भएको थियो। नेपालले पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा १५१ रनको जित निकालेको थियो।
लिग-२ को अंक तालिकामा ओमान शीर्ष स्थानमा छ। ओमानको २८ खेलबाट ३६ अंक छ।
हिजो हात पारेसँगै युएई अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको थियो। उसले १५ खेलबाट १८ अंक जोडेको छ। तेस्रो स्थान झरेको स्कटल्यान्डको १२ खेलबाट १६ अंक छ।
चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक र पाँचौ स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ। छैटौं स्थानको नेपालले ८ खेलबाट ८ अंक जोड्दा पुछारको पपुवा न्युगिनीले १३ खेल खेल्दा अंक जोड्न सकेको छैन।
लिग-२ मा नेपालले आफ्नो तेस्रो सिरिज खेल्न लागेको हो। नौं सिरिजमध्ये दुई सिरिज खेल्दा नेपाल अंक तालिकामा पुछारबाट दोस्रो अर्थात् छैटौं स्थानमा छ।