सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणालीमा अधिक चाप परेपछि मंगलबारदेखि नयाँ आवेदन लिन बन्द गरिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार आवेदकको संख्या ५ लाख ७२ हजार पुगेपछि आवेदन प्रणाली बन्द गरिएको हो ।
विभागले अनिश्चितकालका लागि आवेदन बन्द गरेपछि लाइसेन्सको फारम भर्ने तयारीमा रहेकाहरु बिलखबन्दमा परेका छन् । सोमबार एक सूचना जारी गर्दै १ चैतदेखि अर्को सूचना नभएसम्मका लागि नयाँ निवेदन नलिने जानकारी गराएको थियो । आवेदकहरुको परीक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएको भन्दै विभागले सूचना प्रकाशन गरेको थियो ।
अहिले विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले परीक्षाको व्यवस्था गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम सरकारको नियन्त्रणभन्दा बहिर पुगेको छ ।
यसअघि कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए । ६ महिना बन्द गरेर गत ९ कात्तिकदेखि लाइसेन्सको आवेदन लिन थालिए पनि प्रक्रियामा प्रवेश गरेकाहरु पनि ३ वर्षभन्दा पछि (२०२५ सम्मको) को मात्रै परीक्षाको मिति पाएपछि अन्योलमा छन् ।
लाइसेन्सको परीक्षा सुरु गरेका कार्यालयले प्रतिक्षा सूचीमा रहेको चाप छिटो घटाउने गरी कुनै पहलकदमी लिए नलिई नियमित शैलीमा परीक्षा लिइरहेका छन् । यहीबेला चाप व्यवस्थापनको काम गर्नुको साटो नयाँ आवेदन लिन बन्द गर्ने निर्णयमा विभाग पुगेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।