नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताएका छन् ।
आज मंगलबार नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेता सिंहले यस्तो बताएका हुन। नेता सिंहले हरेक निर्वाचनमा चाप्लुसी गर्ने व्यक्तिहरुले उम्मेदवारी पाउने गरेकोप्रति लक्षित गर्दै आफ्ना मान्छेहरुलाई स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा उम्मेदवार बनाउने परिपाटीका कारण सिंगो पार्टीलाई असर परिरहेको बताए ।
नेता प्रकाशमान सिंहले नेपाली काँग्रेसले स्थानीय तहको लागि निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको विधान र नियमावलीलाई पालना गर्न आवश्यक रहेको समेत बताएका छन् । उनले स्थानीय तहको निर्वाचनमा हरेक वडा तथा पालिकामा उम्मेदवार छनोट गर्दा सकेसम्म सर्वसम्मत हुनुपर्ने र सर्वसम्मत हुन नसके वडा तथा पालिकाहरुमा छाप छोडेको व्यक्तिलाई उम्मेदवारमा छनोट गर्नुपर्ने धारणा राखे ।
नेता सिंहले भने, वैशाख ३० गते स्थानीय निर्वाचनको डेट फिक्स भइसकेको छ । अहिले नेपाली काँग्रेस पार्टीको संगठन नै देशव्यापी रुपमा ६ हजार ७४३ वटा वडा समितिदेखि लिएर ७ सय ५३ वटा पालिकाहरुमा फोकसिङ गरेर राष्ट्रिय अभियान शुरु भइसकेको छ । ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ भन्ने अभियान सुरु भईसकेको छ ।
यसमा पार्टीका सबै नेता कार्यकर्ताले यस पटक आउने स्थानीय निर्वाचन संघीयतालाई कार्यान्वयनमा लैजानको लागि र संघीय, प्रान्तीय सरकार र स्थानीय सरकारको महत्व हो जनतासमक्ष पुर्याउनको लागि यो महत्वपूर्ण निर्वाचन हुन गईरहेको कारणले गर्दा यसमा काँग्रेसले उम्मेदवार चुन्दा पार्टीको विधान, नियमावलीको बाटो देखाएको छ । वडा वडाबाट, टोलटोलबाट वडालाई उम्मेदवार छान्दा काँग्रेसी सबैले विधानले भनेका कुराहरुलाई पालना सबैले गर्नुपर्छ ।