शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

नेपाली राजनीतिमा ठूलो उथलपुथलको संकेत, प्रचण्डलाई कसले दियो यस्तो गम्भीर सूचना ?


  • सोमबार, फाल्गुन ३० २०७८
14K
SHARES

फाइल तस्विर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले गम्भीर सूचना पाएको दाबी गरेका छन् । प्रचण्डलाई कसले गम्भीर सूचना दियो यसबारेमा भने उनी केही बोलेका छैनन् । विदेशी शक्तिहरु नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न लागिपरेको सूचना आफूलाई प्राप्त भएको उनको भनाई छ ।

आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको दावी गरेका प्रचण्डले कुन विदेशी शक्तिले त्यस्तो गरिरहेको भन्नेबारे उनले थप खुलाएनन् ।

विदेशी षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने उनको भनाइ थियो । ‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीहरुलाई सिध्याउन र दुई दलीय सिष्टम स्थापित गर्न ‘इन्टरनेशनल रियाक्सन’ लागेको छ’, उनले भने, ‘चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन । नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धी हार्छ, समावेशी, समानुपातिक लोकतन्त्र हार्छ ।’

माओवादीलाई घेराबन्दी गरेर कमजोर पार्ने कोसिस भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै उनले त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए । ‘निर्वाचनको ब्याटललाई सामान्य रुपमा नलिनुहोला’, उनले भने ।

प्रचण्डले समावेशी लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफूहरुको निरन्तरको निष्ठा रहेकाले त्यसलाई उल्ट्याउने षड्यन्त्र असफल पार्न परिस्थितिले जे माग गर्छ त्यही गर्न तत्पर रहेको उल्लेख गरे ।

प्रचण्डले पहिलो संविधानसभा निर्वाचनपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूबाट गल्ती भएको कार्यकर्तामाझ स्वीकार गरे । ‘ठूलो पार्टीका रुपमा स्थापित भएपछि हाम्रो खुट्टा भुइँमा भएन ।

गिरिजाप्रसाद कोइराला विचरा, त्यो बुढो मान्छे । जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भएको हो । उहाँले राष्ट्रपति बन्न खोज्दा दिइएन’, प्रचण्डले भने, ‘खुरुक्क गिरिजाप्रसादलाई राष्ट्रपति दिन पाएको भए पाँचै वर्ष हाम्रो सरकार हुन्थ्यो । अहिले फर्केर हेर्दा अनौठो लाग्छ ।’

यस्तै रुक्मांगद कटवाललाई प्रधानसेनापतिबाट हटाउन डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलले अनावश्यक दबाब दिएको प्रचण्डले बताए । तीन महिनामा कार्यकाल सकेर घर जान लागेका कटवाललाई चलाउँदा माओवादीले सरकारको नेतृत्वसहित धेरै विषय गुमाएको स्मरण उनले गरे ।

‘दायाँ र बायाँ बस्नेहरु ठोक भन्छन् । म अली उदार मान्छे । दायाँ बाबुराम छन् बायाँ बादल छन्’, उनले भने, ‘बढो क्रान्तिकारी भएर तीन महिनापछि जान लागेको रुक्मांगद कटलाललाई हटाउँदा सरकार, राष्ट्रपति सबै गयो ।’ त्यतिबेला प्रचण्ड प्रधानमन्त्री थिए भने बाबुराम अर्थ तथा बादल रक्षामन्त्री थिए ।

प्रचण्डले ०७४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा र मधेस केन्द्रित दलका नेता बारम्बार आफ्नो निवास खुमलटार आएर पाँच वर्षका लागि एकलौटी प्रधानमन्त्री बन्न आग्रह गर्दासमेत बामगठबन्धनको भावनाअनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाएको बताए ।

तर, चार वर्षमै आफूले पटकपटक बुढानिलकण्ठ गएर देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गर्नुपर्ने अवस्था आउनुलाई उनले विचित्रताको संज्ञा दिए । देउवालाई प्रधानमन्त्री बन्नका लागि मनाउन आफूलाई हप्तौं लागेको उनले सुनाए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा