काठमाडौँ ।
काठमाडौँको उत्तरी पूर्वी भेगमा पर्ने बूढानीलकण्ठ नगरपालिकामा अनौठो कुरा भएको छ । बेलुकी पत्रकार भेटघाट कार्यक्रम छ है भन्दै स्थानीय तहसंग बढी सरोकार राख्ने सञ्चारकर्मीलाई कांग्रेस नगर कमिटीका एक सदस्यले निम्ता गरे ।
बेलुका ६ बजे हुने भनिएको पत्रकार भेटघाट कार्यक्रममा सञ्चारकर्मीहरू उपस्थित भए । थकान अवस्थामा बेलुकी ७ बजेतिर कांग्रेस मेयर उम्मेदवार विनोद चालिसे आइपुगे । नगरका केही नेताहरू भने सञ्चारकर्मीलाई बोलाएको समय पूर्व नै आइपुगी सकेका थिए । अनिन्द्रा, थकान मुडमा देखिएका चालिसेले सो पत्रकार भेटघाट कार्यक्रममा प्रतिबद्धता पत्र सार्वजनिक गर्ने निधो गरेका रहेछन् । समयमै प्रतिबद्धता पत्र नआएका कारण कार्यक्रम तोकिएको समयभन्दा २ घण्टा ढिला हुन पुग्यो ।
स्थानीय तहको सरोकार राख्ने सञ्चारकर्मीलाई सर्प्राइज विषयको रूपमा प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कांग्रेस भित्र आन्तरिक तयारी रहेछ । केही दिन अगाडी कांगेस बूढानीलकण्ठले संकल्प पत्र सार्वजनिक गरेको थियो । सोही कार्यक्रम मै केही दिनमै प्रतिबद्धता पत्र सार्वजनिक हुने जनाइएको थियो । त्यस कारण मिडियाकर्मीका लागि भने नौलो विषय भने थिएन ।
मिडियाकर्मीलाई सर्प्राइज स्वरूप आफ्ना केही मन्तव्य राख्दै उम्मेदवार चालिसेले प्रतिबद्धता पत्र सार्वजनिक गरे । त्यस पछि प्रतिबद्धता पत्रमा उल्लेख भएका कुराहरू मिडियाकर्मीहरू माझ वाचन समेत गरे । जब चालिसेले प्रतिबद्धता पत्र वाचन गरी सकेको भनी सङ्केत स्वरूप ‘धन्यवाद’ भने त्यस पश्चात् भने मिडियाकर्मीलाई सर्प्राइज लाग्ने अर्को विषय देखा पर्यो । कार्यक्रम स्थल रहेका सञ्चारकर्मीहरू बिच एक आपसमा हेराहेरको अवस्था बन्यो । केही समय कार्यक्रम स्थल सन्नाटामा परिणत भयो । उम्मेदवार तथा उपस्थित कांगेस नेताहरूले समेत कुरा बुझेर होला सबै जना अक्क न बक्क भए ।
मिडियामैत्री नगर हुनु पर्छ भन्दै बूढानलिकण्ठ कार्यक्षेत्र बनाएका सञ्चार गृह तथा प्रतिनिधिहरूले प्रस्तावित ‘बूढानीलकण्ठ सञ्चार समाज’ गठन गरी आफ्ना १४ बुँदे मागहरू अगाडी सारेका थिए । उक्त मागहरूलाई उचित ठहर गर्दै नेपाली कांग्रेस बूढानीलकण्ठ नगर कमिटीले प्रतिबद्धता पत्रमा राखिने र निर्वाचन जितेको खण्डमा कार्यान्वयन गर्ने जनाएको थियो । तर, प्रतिबद्धता पत्रमा कुनै पनि बुँदा समावेश नभए पछि अक्क न बक्कको अवस्था बनेको हो ।
करिब २० सञ्चार गृहका प्रतिनिधिहरूले उठाएका उक्त मागहरूलाई मुख्य दलहरूले आफ्नो घोषणा पत्रमा राख्ने प्रतिबद्धता जनाएका थिए । नेकपा एमालेले उक्त मागको १३ बुँदा कार्यान्वयन गर्न सक्ने भन्दै आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरी सकेको छ । उक्त माग प्रतिबद्धता पत्रमा राख्ने आश्वासन सहित कांग्रेस बूढानीलकण्ठ नगर कमिटीले सञ्चार गृहलाई ‘धन्यवाद पत्र’ समेत प्रदान गरेको थियो । अन्ततः उम्मेदवार चालिसेको नगरको प्रतिबद्धता पत्रमा मिडियाकर्मीहरूका कुनै एक बुँदा माग पनि समावेश गरिएन ।
किन यस्तो भयो ? भन्ने मिडियाकर्मीको प्रश्नमा उम्मेदवार चालिसे प्राविधिक रूपमा मिडियाकर्मीहरूको मागहरू समावेश नभए पनि निर्वाचित भएको खण्डमा सञ्चारकर्मीको मागलाई सम्बोधन हुने कार्य गर्ने जनाएका थिए ।
बूढानीलकण्ठ कांग्रेसले मिडियाकर्मीहरूको मागलाई उपेक्षा गरिएको कुरा नगर सभापति राजाराम बुढाथोकीले पुष्टि गरे । ‘सबै विषयहरू एकै लाइनमा देखिने जस्तो गरी एक वाक्यमा ‘मिडियामैत्री नगर बनाउने’ भनी राखेका थियौँ । तर त्यो कुरा पनि आज नआएको रहेछ । यो बारे साथीहरूसँग छलफल गर्छु’, उनले भने ।
काठमाडौँ क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने बूढानीलकण्ठ नगरपालिका संघीय सांसद गगन कुमार थापाको समेत निर्वाचन क्षेत्र हो । नेपाली कांग्रेसका महामन्त्री रहेका थापाको यस क्षेत्रबाट कांग्रेसले मिडियाकर्मीमाथि यस्तो अनुचित व्यवहार गर्ला भनेर कहिल्यै नसोचेको एक सञ्चारकर्मीले बताए ।
यस्तो छ प्रस्तावित ‘बूढानीलकण्ठ सञ्चार समाज’को १४ बुँदे मागहरुः
१. पत्रकारको सुरक्षा तथा स्वास्थ्य बिमा १० लाखमाथिको
२. मिडिया कम्पनी नवीकरण कर पूर्ण छुट
३. सूचना तथा सञ्चार मैत्री वडा तथा नगर कार्यालय
४. वडा कार्यालयमा सञ्चार डेस्क
५. प्रत्येक वर्ष मिडिया तथा पत्रकारलाई सम्मान तथा पुरस्कारको व्यवस्था ।
६. पत्रकारिता तथा पत्रकारिताका लागि तालिम, अध्ययन, अनुसन्धानका लागि विशेष व्यवस्था ।
७. बुढानीलकण्ठ सञ्चार ग्राम निर्माण ।
८. अनुगमन समितिमा अनिवार्य पत्रकार प्रतिनिधित्व राख्ने व्यवस्था।
९. स्थानीय पाठ्यक्रममा सूचना तथा सञ्चारको विषय राख्ने व्यवस्था ।
१०. नगर तथा वडाको सार्वजनिक सुनुवाइ स्थानीय सञ्चार माध्यमले अनिवार्य गर्ने ।
११. नगरपालिकामा स्थानीय पत्रकार सञ्चार सल्लाहकार अनिवार्य राख्ने ।
१२. नगरपालिका सम्पूर्ण सूचना तथा विज्ञापनहरू नगरपालिकामा सूचिकृत सञ्चार माध्यममालाई अनिवार्य रूपमा दिनुपर्ने व्यवस्था ।
१३. स्थानीय सञ्चार माध्यम तथा पत्रकारलाई नगरपालिकाले विशेष परिचयपत्रको व्यवस्था ।
१४. नगरपालिकाको कार्यपालिकामा पत्रकार प्रतिनिधित्व गराउने व्यवस्था ।