पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गरेका छन् । एमाले जिल्ला कमिटी मोरङले बुधबार आयोजना गरेको तराई मधेश बृहत् जनसभालाई सम्बोधन गर्दै उनले समृद्धिको यात्रामा कतै पनि नअल्मलिकन देशव्यापीरूपमा लाग्ने विश्वास दिलाए ।
अध्यक्ष ओलीले जन्मसिद्ध आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने भन्दै नागरिकताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
एमालेभित्रको घुसपैठले पार्टी सरकार विस्थापित भएको बताउँदै अध्यक्ष ओलीले पार्टीमा गलत काम गर्नेहरू चिनिएकाले उनीहरूलाई जनताले ठेगान लगाउने ठोकुवा गरे । उनले आफ्नो पार्टी जनताका माझमा निकै बलियो भएको तर्क गर्दै विगतमा एमाले सही नीतिका कारण नेपालको भूमि फिर्ता ल्याएको दाबी गरे ।
आफू नेतृत्वमा बनेका सरकारले रक्सौल काठमाडौं रेलसेवा, सुरुङमार्ग, काठमाडौंमा सुक्खा बन्दरगाह जस्ता राष्ट्रिय गौरवको योजना ल्याएको बताउँदै अध्यक्ष ओलीले कोभिड–१९ को महामारीबाट नागरिकको जीवन सुरक्षा गर्न हरसम्भव प्रयास गरेको बताए ।
सरकारले एकै दिन ३९६ अस्पताल र २६५ वटा सडक शिलान्यास गरेको स्मरण गर्दै उनले जनताका हितका निम्ति आएका यस्ता योजनालाई सरकारले काट्न नहुने धारणा राखे । सदरमुकाम जोड्ने बुटवल, ढल्केवर, गोरुसिङे, नेपालगञ्ज र धनगढीमा चारदेखि छ लेनको बाटो बनाएको भन्दै जनतालाई अनुभूति गराउने किसिमको विकास गरेको दाबी गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।