नेकपा एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले जनताले गर्ने फैसला मान्ने तर बुढो रुखलाई बचाउन मतपत्र हरियो बनाउने कुरा अमान्य रहेको बताएका छन् ।
मोरङको रंगेलीमा एमालेले बुधबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकारले मुलुकमा विकास निर्माणका धेरै काम गरेको दाबी गरे ।
‘हामी सरकारमा हुँदा विकास निर्माणका धेरै कामहरु भएका छन्,’ ओलीले भने, ‘त्यसको फैसला अब जनताले गर्छन् ।’ निर्वाचनमा एमालेलाई न्याय गर्न पनि उनले आग्रह गरेका छन् । चुनावमा जाँदा एमालेले एमसीसीका बारेमा जनतामा रहेको भ्रम चिर्ने उनले बताए ।
संसदलाई प्रभावकारी हुन नदिने, जनताका काममा अवरोध गर्ने, विरोधीसँग मिलेर सरकार ढाल्ने, अदालतमा मुद्दा हाल्ने गतिविधि आफ्नै पार्टीबाट हुन थालेपछि संसद विघटन गरिएको ओलीको भनाइ छ ।
उनले मतपत्र हरियो रंगको नभइकन रातो हुनुपर्ने बताए । निर्वाचन आयोगले कांग्रेसलाई फाइदा पुग्ने गरी मतपत्र बनाउन लागेको ओलीको आरोप छ । ‘बुढो रुखलाई बचाउन मतपत्र हरियो बनाउन खोजिँदै छ, ‘उनले भने, ‘पात मात्रै झरेको छैन, रुख नै सुकेको छ ।’
मतपत्र हरियो बनाएर निर्वाचन आयोग कांग्रेसतिर झुकेको भन्दै त्यसलाई सच्याउन उनले आग्रह गरेका छन् । ओलीले प्रचण्डको पार्टी नेकपा (माओवादी केन्द्र) भ्रमको गोलो मात्रै भएको बताए । ‘प्रचण्डको पार्टी पार्टी हैन,’ उनले भने, ‘यो भ्रमको गोलो मात्रै हो ।’
माधवकुमार नेपालले पार्टी छाडेपछि हाइसन्चो भएको ओलीको टिप्पणी छ ।