नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका ५ जनाले विष सेवन गरेको घटनामा आर्थिक कारण जोडिएको पाइएको छ ।
घटनास्थलबाट प्रहरीले बरामद गरेको ‘सुसाइड नोट’मा ब्रिटिश गोर्खाली वचत तथा ऋण सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसक्दा पटक पटक ताकेता गरेको उल्लेख गरिएको छ ।
महानगरीय प्रहरी वृत्त, स्वयम्भुका एक अधिकृतका अनुसार उक्त नोटमा सहकारीमा कार्यरत त्यस परिवारकी मन्दिरा प्रधान कोभिड–१९ का कारण उपस्थित हुन नसक्दा विभिन्न आरोपमा मुद्दा लगाइदिने धम्की सञ्चालकले दिएको पनि उल्लेख छ ।
‘धम्कीपछि म त्यहाँ उपस्थित हुँदा मलाई त्यहाँको मेडम र ऋण शाखाका व्यक्तिहरुले ४ घन्टा मानसिक यातना दिएका थिए र प्रहरी वृत्त, जनसेवामा पनि लगेका थिए’ भीममान प्रधान र उनकी श्रीमती मन्दिराले हस्ताक्षर गरेको नोटमा भनिएको छ, ‘मलाई त्यतिबेला धेरैबेरसम्म आरोप–प्रत्यारोपण गर्ने र भिडियो बनाएर सम्पूर्ण स्थानमा बेइज्जत गरिदिन्छु भनेर प्रताडना दिने काम भयो ।
नोटमा एक जना व्यक्तिसँग हुण्डाई इओन गाडी खरिद गरेको भनिएको छ, तर लकडाउनका बेला तिर्न नसकेपछि बाँकी रकम फिर्ता दिन्छु भनेर गाडी लगेको उल्लेख गरिएको छ ।
‘तर पछि उसले पनि तेरो पैसा दिन्न, सर्वोच्च गएर उजुरी दिए पनि मतलब छैन, मेरो खल्तीमा पुलिस प्रशासन सबै छ’ भनेर भनेको नोटमा उल्लेख गरिएको छ । आफूलाई उनलाई गाडी खरिद बिक्री गरेको कागज भएपनि प्रहरी–प्रशासनको धम्की दिएर चुप लाग्न बाध्य पारिएको भनिएको छ ।
सोमबार राति साढे ९ बजे डाँडापौवामा प्रधानको परिवारका ५ जना अर्धबेहोसी अवस्थामा भेटिएका थिए । तीमध्ये ३३ वर्षीय सुर्वणमान प्रधानको मनमोहन मेमोरियल अस्पताल, स्वयम्भुमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनाली बताउँछन् ।
उनका अनुसार घटनामा गम्भीर घाइते ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीया भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधानको अवस्था गम्भीर छ ।