काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको निर्देशन सत्तागठबन्धनमा खुसीयाली छाएको छ । देउवाले सत्ता गठबन्धनलाई अप्ठ्यारो पार्ने गतिविधि नगर्न निर्देशन दिएपछि गठबन्धनका नेताहरु खुसी भएका हुन् ।
स्थानीय तह निर्वाचनको माहोल बनाउन मंगलबार कांग्रेसका गाउँ जाने प्रतिनिधिहरूलाई सभापति देउवाले गठबन्धनलाई असर गर्ने कुनै गतिविधि नगर्न निर्देशन दिएका हुन् । कांग्रेसले गाउँगाउँ पुग्ने अभियान घोषणा गरेको छ ।
“निर्वाचनको माहोल निर्माण गर्ने क्रममा गठबन्धनलाई अप्ठेरो पार्ने कुनै गतिविधि नगर्नुहोला,” उनले प्रतिनिधिहरूलाई निर्देशन दिँदै भनेका छन्, “तपाईंहरूले कांग्रेसको पक्षमा माहोल बनाउनुहोला ।” उनले यसो भनेर निर्वाचनमा पनि गठबन्धन कायम रहने संकेत दिएका हुन् ।
यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेपाली कांग्रेस बन्दीपुर गाउँसमितिले आज डुम्रेमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेकाले पार्टीलाई सशक्त र एकजुट बनाउनुपर्नेमा जोड दिए ।
“कांग्रेस एकजुट भए मात्रै विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्छौँ, पार्टीभित्र भएका असमझदारीलाई हटाउँदै एकता कायम गर्नुपर्छ”, उनले भने, “एकता नै नभए विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ ।” वरिष्ठ नेता पौडेलले जनताको सेवालाई मूल धर्म सम्झिएर कार्यकर्ता गाउँगाउँ पुगेर कांग्रेसको प्रचार गर्नुपर्ने बताए ।
वरिष्ठ नेता पौडेलले अहिले रहेको चार दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए । समावेशी संविधानका लागि एउटै पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गरेर जाँदा कांग्रेसलाई नै फाइदा पुग्ने धारणा व्यक्त गरे । “संविधान रक्षाका लागि पहिला गठबन्धन गरेका हौँ, अब पनि गठबन्धनलाई निरन्तरता दिनुपर्छ”, उनले भने । कांग्रेस जहाँ जहाँ कमजोर छ त्यहाँ गठबन्धन गर्दा कांग्रेसलाई नै फाइदा पुग्ने उनको भनाइ थियो ।