काठमाडौँ – प्रहरी हिरासतमा रहेको अभिनेत पल शाहले खुशीको खबर सुनेका छन् । उनी अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले सोचेभन्दा राम्रो व्यापार गरेपछि उनी खुशी भएका हुन् ।
साढे दुई करोड लागत रहेको उक्त चलचित्रले रिलिज भएको एक हप्तामै पाँच करोडको व्यापार गरेको बताइएको छ ।
फिल्मकी निर्माता एवं नायिक पूजा शर्माले एक हप्तामा नै फिल्मले ४ करोड ९५ लाखको व्यापार गरेको सामाजिक संजाल फेसबुकमार्फत दाबी गरेकी हुन् ।
जबर्जस्ती करणी आरोपमा पक्राउ परेको भोलिपल्टदेखि उनले अभिनय गरेको चलचित्र रिलिज भएको थियो । फिल्म रिलिज हुने दिन नै गम्भीर आरोपमा जाहेरी परे पनि एक हप्तामा नै फिल्मले राम्रो आम्दानी गरेको दाबी गरिएको हो ।
रिलिजको अघिल्लो दिनको प्रिमियरमा उपस्थित हुन खोजे पनि जाहेरी परेका कारण पल रोखिएका थिए । केही प्रहरीको खोजीमा रहेका पलले केही दिनमै जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आफैं गिरफ्तारी दिएका थिए ।
सात दिने म्याद म्यादको अवधिमा शाहमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । फिल्म रिलिज भएको शुक्रबार एक हप्तामात्रै पुगेको छ ।
उनले फेसबुकमा लेखेकी छन्, ‘आजबाट भव्य सफलता साथ देशभर दोश्रो हप्तामा ‘म यस्तो गीत गाँउछु २’ सम्पूर्ण सिनेमा हलहरू सम्पूर्ण पत्रकार ज्यूहरू सम्पूर्ण दर्शक ज्यूहरू सम्पूर्ण चलचित्रकर्मी ज्यूहरू मा यो माया सम्मानको लागी मनैदेखि धन्यबाद ।’
‘म यस्तो गीत गाँउछु २’ नायिक एवं निर्माता शर्माले सामाजिक संजालमा लेख्दै पहिलो हप्ता फिल्मले चार करोड ९० लाख उठाएको दाबी गरेकी हुन् ।
सुदर्शन थापाको निर्देशनमा बनेको यो चलचित्रमा पूजा शर्मा, पल शाह, हरिहर शर्मा, दिनेश डीसी लगायतको मुख्य भूमिका छ ।