काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य सहमति भएको खुलासा भएको छ । दुई नेताबीच आलोपालो प्रधानमन्त्री बन्ने गोप्य सहमति भएको खुलासा भएको हो ।
प्रधानमन्त्री देउवा निकट एक कांग्रेस नेताका अनुसार आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमसीसी पास गर्न तयार भएका हुन् । सम्भव भए चुनाव अघि र त्यो सम्भव नभए संघीय चुनावपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री देउवाले गोप्य रुपमा सहमति जनाएका ति नेताले बताए ।
प्रचण्डलाई आवश्यक परिस्थिति हेरेर प्रधानमन्त्री बनाउने प्रधानमन्त्री देउवाको आश्वासनपछि प्रचण्ड एमसीसी पास गर्न ‘युर्टन’ भएकोसमेत ति नेताको दाबी छ ।
माओवादी केन्द्र अहिलेकै अवस्थामा एमसीसी पास गर्न नहुँने अडानसहित सडक आन्दोलनमा होमिदै थियो । त्यसै क्रममा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श सुरु गरेका थिए ।
सत्ता गठबन्धन टुटेमा आफूहरु कुनै पनि हालतमा सरकारमा सहभागी हुने वातावरण नबन्ने, आउँदो चुनावमा गठबन्धन नबने चुनाव नजित्ने र धेरै कुरामा आफूहरु पेलिने देखेका अध्यक्ष प्रचण्डले अन्ततः एउटा बहाना बनाएर एमसीसी पास गराउन सघाएका हुन् ।
छलफलकै क्रममा एमसीसी पास गर्ने हो भने आफूलाई प्रधानमन्त्री बनाउन प्रचण्डले प्रधानमन्त्री देउवालाई प्रस्ताव गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले अवस्था हेरेर त्यो कदम पनि चाल्न तयार रहेको तर, त्योभन्दा पहिले एमसीसी पास गराउन सहयोग गर्नुपर्ने भनेपछि प्रचण्ड तयार भएका थिए ।
प्रधानमन्त्री देउवाले संघीय चुनाव हुनुभन्दा पहिले प्रधानमन्त्री बनाउने वातावरण नबनेमा चुनावपछि प्रधानमन्त्री बनाउन आफूले सहयोग गर्ने प्रचण्डलाई बचन दिएका स्रोतको दाबी छ ।
अबका दिनमा आलोपालो प्रधानमन्त्री बन्ने प्रचण्डसँग सहमति गरेका थाहा पाएलगत्तै नेपाली कांग्रेसभित्र खैलाबैला मच्चिएको छ । प्रचण्डसँग सहकार्य गर्दै अघि बढेमा नेपाली कांग्रेसलाई निक्कै अप्ठ्यारो पर्ने बुझेका कांग्रेसका नेताहरुले चुनावमा गठबन्धन गर्न नहुँने बताउन थालेका छन् ।
कांग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, नेता शेखर कोइरालालगायत नेताहरुले आउँदो चुनावमा कुनैपनि हालतमा गठबन्धन गर्न नहुँने पक्षमा रहेका छन् ।
यस्तै प्रधानमन्त्री देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई समेत आवश्यक व्यवस्थापन गरिदिने वचन दिएको ती नेताले खुलाएका छन् ।
उनी भन्छन्, ‘राजदुत नियुक्तिदेखि विभिन्न निकायहरुमा एकीकृत समाजवादी निकटहरुलाइृ व्यवस्थापन गरिदिने प्रधानमन्त्री देउवाले वचन दिनुभएपछि समाजवादीका अध्यक्ष माधव नेपाल एमसीसी पास गर्न तयार हुनुभएको हो ।’