पेट्रोल ९० रुपैयाँमा किनेर १५० रुपैयाँमा बेच्दा १६ रुपैयाँ घाटा हुने पनि हुन्छ र भन्ने प्रश्न आम सर्वसाधारणले गर्छन् । तर निगमले अझै पेट्रोलमा १६ रुपयमा घाट हुने बताउँछ । यसका पछाडि सरकारले लाउने कर रहेको छ । करकै कारण ९० रुपैयाँ प्रतिलिटरमा निगमले किनेको तेल उपभोक्ताले १५० रुपैयाँ प्रतिलिटरमा क्यास दिएर किन्दा समेत १६ रुपैयाँ भन्दा बढी घाटा हुने गरेको निगम स्रोत बताँउछ ।
भारतीय आयल निगम (आईओसी)ले पेट्रोल प्रतिलिटर ९० रुपैयाँ ९४ पैसामा दिन्छ। तर, नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि पुन: भाउ बढाएर १ सय ५० रुपैयाँ पुर्याएको छ।
तर नेपाल आयल निगम भन्छ, ‘प्रतिलिटर १६ रुपैयाँ २८ पैसा घाटा छ।’ तर, यति धेरै ‘मार्जिन’ छ। नगदमै कारोबार हुन्छ। घाटा कसरी हुन्छ भन्ने सरोकारवालाको प्रश्नमा निगम भन्छ यसका पछाडी अत्याधिक कर कारण हो ।
‘पेट्रोलियम पदार्थमा सरकारले लिने कर यति धेरै छ कि, जति सस्तोमा किने पनि करै करका कारण महँगोमा बेच्नुपर्ने बाध्यता छ।
यसको प्रत्यक्ष असर भने उपभोक्ताले व्यहोरिरहनुपरेको छ। एक लिटर पेट्रोल किन्दा ५८ रुपैयाँ ४९ पैसा त कर मात्रै तिरिरहेका छन्। निगमका अनुसार भन्सार शुल्क २५ रुपैयाँ २० पैसा, भन्सार सेवा शुल्क ३ पैसा, सडक सम्भार ४ रुपैयाँ, पूर्वाधार विकास १० रुपैयाँ, मूल्य स्थिरीकरण कोष १ रुपैयाँ ४२ पैसा, वातावरणमा १ रुपैयाँ ५० र मूल्य अभिवृद्धि कर १६ रुपैयाँ ३४ पैसा कर जोडिन्छ। यी सबै करको बोझ उपभोक्तामाथि थोपरिएको छ। कर, ढुवानी र डिलरको कमिसन तथा प्रशासनिक खर्च जोड्दा १ सय ६६ रुपैयाँ २८ पैसा पुग्ने निगम स्रोत बताँउछ ।
डिजेल, मट्टितेल र एलपी ग्यासमा पनि सरकारले लिने करको दायरा चर्को छ। सरकारले डिजेलमा ४१.१६ रुपैयाँ कर लिने गरेको छ। भन्सार शुल्क १२, भन्सार सेवा शुल्क ०.०३, सडक सम्भार शुल्क २, पूर्वाधार विकास कर १०, मूल्य स्थिरीकरण कोष १.२५, वातावरण शुल्क १.५०, मूल्य अभिवृद्धि कर १४.३८ गरी ४१ रुपैयाँ १६ पैसा कर उठाउने गरेको हो। सरकारले मट्टीतेलमा भन्सार शुल्क १२, भन्सार सेवा शुल्क ०.०३, मूल्य स्थिरीकरण कोष १.१९ गरी १३.२२ रुपैयाँ कर उठाउँछ।
एलपी ग्यासमा भन्सार शुल्क ८१.४५, भन्सार सेवा शुल्क ०.३९, मूल्य स्थिरीकरण कोष १५.७५, मूल्य अभिवृद्धि कर १७६.३५ गरी २७३.९४ रुपैयाँ राजस्व उठाउने गरेको छ। त्यस्तै हवाई इन्धनमा भन्सार शुल्क २.१०, भन्सार सेवा शुल्क ०.०३, मूल्य स्थिरीकरण कोष १.०१, मूल्य अभिवृद्धि कर १३.३५ गरी १६.४९ रुपैयाँ राजस्व उठाउने गरेको छ।
सरकारले भारतीय आयल निगमबाट ३ रुपैयाँ बढेको मूल्य सूची पाएसँगै निगमले बिहीबार १२ बजेदेखि लागू हुने गरी लिटरमा ५ रुपैयाँ बढाएको छ। अब पेट्रोल १ सय ५० रुपैयाँ प्रतिलिटर पुगेको छ। त्यस्तै डिजेल र मट्टीतेल १ सय ३३ रुपैयाँ पुगेको निगमले जनाएको छ। एलपी ग्यासमा ६ सय ६५ रुपैयाँ घाटा हुँदा पनि बिक्री मूल्य बढाएको छैन।