मस्को । पछिल्लो समय रुस र युक्रेनबीचको युद्धले विश्वभर त्रास बढेको छ । रुसले मानवताका लागि भएपनि तत्काल आफ्ना सैनिक फिर्ता बोलाउनुपर्ने आग्रह विश्वका ९५ प्रतिशत देशले गरिरहेका छन् ।
यसैबीच, रुसले युक्रेनलाई तारो बनाउनुको कारण अर्कै रहेको खुलासा भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बिहीबार भएको खुलासा गरेका हुन् जुन उनले यसअघि खुलाएका थिएनन् ।
उनले भने, युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ ।
रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले बिहीबार सो धारणा राखेका हुन्। उनले भने, हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्था्त सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ । उनले रुसले युक्रेनमाथि गरेको हमलामा रुसी सेनाले साहसपूर्वक काम गरेको पनि बताए।
रुसी सेनाले ठूलो काम गरेको छ, निकै साहसी काम गरेको छ, हामी त्यसैले सफल भएका छौँु, उनले भने। रुसको सीमा क्षेत्रमा पश्चिमाहरुबाट खतरा देखिएको तथा रुसलाई पनि आणविक खतरा देखाइएको भन्दै यसका कारण रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको उनले बताए।
रुसले गत हप्तादेखि नै युक्रेनमा हमला जारी राखेको छ ।
बिहीबार रातिसम्म पनि राजधानी युक्रेन र अन्य कतिपय सहरहरुमा रुसी सेनाले हमला जारी नै राखेको बताइएको छ । एजेन्सी