नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रचण्डजति ‘गद्दार’ र गगन थापा जस्तो ‘दलाल’ अरु कोही नदेखिएको बताएका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति आक्रोश व्यक्त गरेका हुन्।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपाले एमसीसी राष्ट्रको हित विपरित रहेको जनाएको छ । उक्त कार्यक्रममा नेकपा प्रवक्ता प्रकाण्डले प्रचण्डकै कारण १५ गते एमसीसी पारित भएको आरोप लगाए ।
उनले भने ‘प्रचण्डजी जस्तो दलाल र राष्ट्रघाती, राष्ट्रकाविरुद्ध गद्दार गर्ने अरु कोही देखिएन । प्रचण्डजीकै कारण १५ गते एमसीसी पारित भयो ।’
उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि अमेरिकी दलाल भएको आरोप लगाए । उनले बुढा दलालहरुले गर्न नसकेपछि युवा दलालहरु सक्रिय भएको दाबी पनि गरे । उनले भने, ‘बुढापाका दलालहरुले नसकेपछि युवा नेताका नाममा दलाली सुरु गरे ।’ उनले अब आफूहरुले एमसीसी लागु हुन नदिने पनि बताए ।
उनले सरकारले संसदीय व्यवस्था विपरित एमसीसी संसदबाट पास गरेको र १२ बुँदे व्याख्यात्मक घोषणा गलत भएको आरोप पनि लगाए । सदनबाटै एमसीसी पारित गरेर सरकारले जनताको भावनाबिपरित एमसीसी कार्यान्वयन गर्न खोजेको भन्दै आफूहरुले यसलाई रोक्ने चेतावनी पनि दिए ।
एमसीसी आर्थिक परियोजना मात्र नभएर सैन्य रणनीतिका लागि आएको १२ बुँदेले पुष्टि गरेको पनि उनले दाबी गरे । अब एमसीसीको विरोधमा जनता उर्लने भन्दै जनताको बलमा एमसीसी लागू हुन नदिने उनको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।