शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रचण्डलाई लखेट्न यस्तो बन्यो योजना, एमसीसी बन्यो कारण


  • बुधबार, फाल्गुन १८ २०७८
13.3K
SHARES

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एमसीसी पास गरेर दिपावली गर्ने शासकहरुलाई देशबाट लखेट्ने उद्घोष गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीसहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज काठमाडौंमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले दिपावली गर्ने प्रचण्डसहित नेताहरुलाई लखेट्ने उद्घोष गरेका हुन् ।

अबको आफूहरुको आन्दोलन भनेको एमसीसीलाई लागू गर्न नदिने भन्दै जबसम्म एमसीसी खारेज हुँदैन तबसम्म आफूहरुले एमसीसी विरुद्धको आन्दोलन गरिरहने उद्घोष गरे ।

रातारात गठबन्धनको नाममा, बहुमतको नाममा एमसीसी पास गरेर शेरबहादुर, प्रचण्डहरुले विगतका सबै राष्ट्रघातलाई माथ गर्ने राष्ट्रघाती कदम चालेको ठोकुवा गरे ।

‘एमसीसी राष्ट्रिय स्वाधीनताको कोणबाट गम्भीर त छदैछ’ उनले भने, ‘त्यति मात्र होइन नेपाली जनताको स्वनिर्णयको अधिकारको विरुद्धमा यो धेरै खतरनाक छ, नेपालको आत्मनिर्भर अर्थव्यवस्था, नेपालको समृद्ध विकासको विरुद्धमा पनि यो धेरै खतरनाक छ । नेपाली जनताको खिलापमा छ यो भनेर हामी संघर्षमा छौँ ।’

अहिले संघर्ष उत्कर्षतिर गइरहेको बताउँदै उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि, स्वाभिमान गुम्नबाट बचाउन लागि एक पटक सबै नेपाली जनताहरु डटेर संघर्ष गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘नेपाली जनताले एमसीसी पास गरेका छैनन् अहिले पनि नेपाली जनता एमसीसी विरुद्धको संघर्षमा छ । जनता नै सर्वोच्च निकाय हो त्यसैले अन्तिम फैसला जनताले गर्छ । संसदीय व्यवस्था जनताको व्यवस्था नभएपछि त्यो सर्वोच्च होइन त्यसैले यो देशको व्यवस्था भनेको दलाल पुजीपतिहरुको व्यवस्था हो यसको फैसला पनि दलाल पुजीपति वर्गको हितमा हुन्छ नेपाली जनताको हितमा हुँदैन ।’

उनले अगाडि भने, ‘हाम्रो हितमा हुँदैन, त्यसैले एमसीसी नेपाली जनताले मान्ने छैन । अबको एमसीसी विरुद्धको संघर्ष भनेको लागू गर्न नदिने हो । संसदभित्र सिमित मान्छे पैसा खाएर गरेको हुन्छ ? ३ करोड नेपाली जनता छन्, एमसीसी पास भयो सक्किगो भन्ने ठान्नु भएको छ ! कहाँ लागू गर्नुहुन्छ शेरबहादुर जी, प्रचण्ड जी,बाबुराम जी‘ ? यै धर्तीमा ! यो धर्तीमा नेपाली जनता छन् । ३ करोड नेपाली जनताको सामना गर्न सक्छनुहुन्छ ? विचार गर्नुहोला ।’

अमेरिकी साम्राज्यवादका कारण युक्रेनमा चर्किरहेको युद्धको उदाहरण दिदै उनले त्यहाँका शासक, राष्ट्रपतिका कारण युक्रेनी जनता जुन मार खेपिरहेका छन् त्यो मुर्खता नगर्न नेपाली शासक देउवा, प्रचण्ड, माधव नेपाल, ओली, बाबुरामको ध्यानाकर्षण गराए ।

अबको आन्दोलन भनेको अमेरिकी एमसीसी विरुद्धको मोर्चा भएकाले सबै नेपाली जनता, देशभक्त क्रान्तिकारी कम्युनिस्ट पार्टीले डटेर प्रतिवाद गर्ने र अमेरिका, एमसीसीलाई लखेटेरै छोड्ने दृढता व्यक्त गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा