शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

भोलि देवादीदेव महादेवको आराधना गर्ने विशेष दीन महाशिवरात्रि !


  • सोमबार, फाल्गुन १६ २०७८
15.7K
SHARES

तस्विरः फाइल

महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो। यो भगवान शिवको प्रमुख पर्व हो। भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ। व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन्।

यस पर्वका दिन उपवास गरी ” ॐ नमः शिवाय” मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ। ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्रि पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ। निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दूधको अभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन्।

शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ। शिवरात्रि पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ भने जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ।

कसरी उपवास गर्ने

आध्यात्मिक मार्गमा हिँड्ने साधकहरूका निम्ति महाशिवरात्रि निकै महत्त्वपूर्ण हुन्छ । जो मानिसहरू घर गृहस्थमा छन् वा जसमा संसारमा केही गर्ने महत्त्वकाङ्क्षा हुन्छ, उनीहरूका लागि पनि महाशिवरात्रि निकै महत्त्वपूर्ण हुन्छ । घर– गृहस्थ सम्हालेका मानिसहरू यस दिनलाई शिव–पार्वतीको वैवाहिक वर्षगाँठ (विवाह भएको दिनको) रूपमा हेर्ने गर्छन् । सांसारिक महत्त्वकाङ्क्षा हुने मानिसहरू यस दिनलाई शिवले आफ्ना सबै शत्रुहरूलाई परास्त गरेको दिनको रूपमा हेर्ने गर्छन् ।

शिवरात्रिमा सूर्योदयअघि उठेर पानीमा गंगाजल र कालो तिल मिसाएर स्नान गर्नुहोस्। यसपछि दिनभर व्रत बसेर शिवको पूजा गर्ने व्रत लिनुहोस्। उपवास वा उपवासको समयमा खाना खानु हुँदैन।

पुराणमा उल्लेख छ कि दिनभर पानी पनि पिउनु हुँदैन। विज्ञहरू भन्छन् कि यदि तपाईं यति कडा उपवास गर्न सक्नुहुन्न भने, तपाईं फलफूल, दूध र पानी पिउन सक्नुहुन्छ। यस व्रतमा बिहान बेलुका स्नान गरी शिव मन्दिरमा दर्शन गर्न जानुपर्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा