नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमसीसीका कारण नेपालको स्वाधीनता तलमाथि भए चारपाटा मोडेर आफ्नो नागरिकता खारेज गर्न चुनौती दिँदै संसद् बैठकमा एमसीसी छलफल हुने क्रममा यदि अमेरिकी सेना नआए भीम रावल तयार हो भन्दै प्रश्न गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले एमसीसीका कारण नेपालको स्वाधीनता तलमाथि भए थानकोट कटाउन, नागरिकता खोस्न र सम्पत्ति खोस्न चुनौती दिए ।
नेकपा एमालेका नेता भीम रावलले एमसीसीका विषयमा भ्रम छरेको भन्दै थापाले पाँच वर्षपछि एमसीसी सम्झौता सकिँदा अमेरिकी सेना नआएमा आफूले जस्तै चुनौती स्वीकार्न तयार हो भनी प्रश्न गरेका छन् ।
के भने गगनले ?
यसलाई राष्ट्घाती भनिएको छ । यो सम्झौताका कारण स्वाधीनता तलमाथि हुन्छ भनिएको छ । कहिँ कतै तलमाथि भयो भने नेपालले जे व्यहोर्छ म हस्ताक्षर गर्ने सांसद भएर सरी भनेर मात्र पाउँदिन ।
त्यस्तो भयो भने म काठमाडौंको सांसद हुँ । थानकोट कटाइयोस्, नागरिकता खोसियोस्, चारपाटा मोडियोस् । सम्पत्ति विवरण बुझाएको छु सम्पत्ति खोसियोस् ।
माननीयज्यूहरु तयार हो ?
यदि आज जनतालाई भनेको कुरा सेना आउँछ, स्वाधीनता लुटिन्छ, सम्पत्ति अरुले लिएर जान्छ अमेरिकी कानुन लागू हुन्छ भनेको कुरा पाँच वर्षमा सम्झौता सकिँदै गर्दा भएन भने त्यो कुरा गर्न तयार हो । तयार हो भने यो पनि चुनौती हो ।