काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको सहमतिसँगै एमसीसी परियोजना संसदबाट व्याख्यात्मक टिप्पणीसहित पास हुने भएको छ ।
‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलको निर्णयप्रति अमेरिकाले सकारात्मक संकेत दिएको दलका काँग्रेस नेताहरुले बताएका छन् ।
यसअघि एमसीसी सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने अडानमा रहेका सत्तारुढ दलकै केही नेताहरु पछिल्लो समय ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गर्न तयार भएसँगै सत्तारुढ दलका नेताहरुले यसबारे अमेरिकी अधिकारीहरुसँग शनिबार साँझ टेलिफोन सम्पर्क गरेका थिए ।
‘एमसीसीमा व्याख्यात्मक घोषणा गर्ने दलहरूको निर्णयमा अमेरिकी अधिकारीहरुले समेत सकारात्मक संकेत दिएकाले हामी अघि बढेका हौ’, काँग्रेसका एक नेता भन्छन्, ‘नेपालका दलहरुले व्याख्यात्मक घोषणा गर्दा अमेरिकाले मान्छ र रु भनेर प्रश्न गरिरहेका बेला त्यसको समेत निरुपण भएको छ ।’
यस्तै संसदबाट एमसीसी व्याख्यात्म टिप्पणीसहित पारित गर्ने सत्ता गठबन्धनमा सहमति जुटेसँगै माओवादी केन्द्रको विवाद सतहमा आएको छ । व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता अनुमोदन गर्ने कुरा आफूहरुलाई मान्य नहुने भन्दै माओवादी नेता नारायणकाजी श्रेष्ठले विद्रोहको घोषणासमेत गरेका छन् ।
सत्ता गठबन्धनको बैठक सकिएलगत्तै एक ट्वीट गर्दै उनले यो निर्णयप्रति आफ्नो गम्भीर असहमति र आपत्ति रहेको बताएका छन् । उनले अध्यक्ष प्रचण्डविरुद्ध जुनसुकै समयमा जस्तोजसकै विद्रोह गर्ने तयारीसमेत अघि बढाएका स्रोतले दाबी गरेको छ ।
आइतबार बिहानको पार्टीको छलफलमा आफू लगायत केही नेताहरुले मतभेद राखेको भन्दै उनले प्रचण्डको यो कदम महाधिवेशनको विरुद्धमा रहेको र गलत भएको बताएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले एमसीसीबारे व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्नु गम्भीर आपत्तिको विषय भएको बताएका छन् । एमसीसीबारे सहमति जुटाउन बसेको माओवादी बैठकमा नेता पोखरेलले व्याख्यात्मक टिप्पणीको गम्भिर प्रतिवाद गरेका हुन् ।
बैठकपछि पोखरेलले भने, ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्ने विषयमा मैले प्रतिवाद गरे ।’ व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नभएको भन्दै उनले यसले देश र जनतालाई हित नगर्ने समेत बताए । ‘यसले देश र जनताको भावनाको प्रतिनिधित्व गर्दैन । यसले देशलाई नोक्सानमात्रै हुन्छ’, पोखरेलको भनाइ छ ।
एमसीसीको विरोधमा कार्यकर्तालाई सडकमा उतारेको माओवादी केन्द्रले अहिले फेरि व्याख्यात्मक विश्लेषणसहित एमसीसी पास गर्ने निर्णय गरेसँगै असन्तुष्ट नेताहरुले पार्टी परित्याग गर्ने तयारी गरेको बुझिएको छ ।
व्याख्यात्मक टिप्पणीसहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने गठबन्धनको तयारी प्रति नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरुले असहमति जनाएका छन् ।