काठमाडौँ ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल खेलकुद संघ बागमती प्रदेशले दोश्रो हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । सोमबार हात्तीसार स्थित एक होटेलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो ।

नेपाली कांग्रेसका स्वर्गीय नेता कृष्ण प्रसाद भट्टराई (केसुनजी) को सम्झनामा ‘दोश्रो किसुन जी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन’ प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसका लागि जो कोहीले पनि आवेदन दिई सहभागी जनाउन सकिने आयोजकले जनाएको छ ।

बागमती खेलकुद संघका अध्यक्ष दीपक गुरुङले भने, ‘गत वर्षदेखि श्रद्धेय नेता किसुन जी को सम्झना राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिताको आयोजना गरेका छौँ । यस कै निरन्तरता स्वरूप दोश्रो प्रतियोगिताको रूपमा चेत्रमा म्याराथन प्रतियोगिता आयोजना गर्न लागेका हौँ ।’

सञ्चारकर्मीसंग कुराकानी गर्दै गुरुङले भने, ‘गत वर्ष जस्तै खेलकुदकर्मी, सञ्चारकर्मी, राजनीतिकर्मी लगायतको साथ पाउनेछु भन्ने आशा राखेको छु । समग्र खेलाडी, खेलकुदको विकासका लागि हाम्रो यो पहल हो । यसमा कुनै पार्टीको सीमित व्यक्तिले मात्र सहभागी हुन पाउने भन्ने छैन । खुल्ला प्रतियोगिता भएको कारण सबैले सहभागी जनाउन सक्नुहुनेछ । उमेरको कुनै हदबन्दी छैन ।’

यता पत्रकार र अध्यक्ष गुरुङ्गविच प्रश्नोत्तर चलिरहँदा सोही प्रसङ्गमा उठेको विषयलाई जोड्दै सचिव दामोदर (बद्री) भट्टराईले भने पत्रकारसंग गुनोशो पोखेका छन् । उनले भने, ‘बागमती लोकतान्त्रिक खेलकुद संघले विशुद्ध खेल, खेलाडी तथा विपदमा परेका व्यक्तिहरूलाई सहयोग गर्दै आएको छ । सहयोग गर्ने कुरामा कुनै दल विशेष, हाम्रा व्यक्ति नभनी पूर्ण रूपमा मनदेखि सहयोग गरेका छौँ । यसमा कुनै पार्टीको भातृ संगठन गरेको र सीमित आफ्नो आस्थासँग मेल खाने व्यक्तिहरू प्रति मात्र लक्षित काम गरेको आशय सहित समाचार सम्प्रेषणमा प्राथमिकता नदिएको हो की भन्ने आभास हुन्छ । यस्तो नगरी दिन हुन सबै सञ्चारकर्मीमा अनुरोध छ । हामी समग्र खेल, खेलाडीको विकास चाहन्छौँ ।’

प्रतियोगिता चैत्र १९ गते हुनेछ । प्रथम हुनेलाई नगद पचास हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार नगद सहित पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको आयोजनाका लागि ११ लाख रकमको अनुमान गरिएको छ ।















