सत्तारुढ गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैठकमा आफ्नो पार्टीमा निर्णय नभइसकेको भन्दै आजको संसद बैठक पनि रोक्न आग्रह गरेका थिए । तर, प्रधानमन्त्री शेरवहादुर देउवाले नेपालको आग्रह अश्वीकार गरेका छन् ।
नेपाल स्थायी कमिटी बैठकका लागि बाहिरिएका हुन् ।
नेपाल बाहिरिए लगत्तै सत्ता गठबन्धनको बैठक पनि केहीबेरमै टुंगिएको छ । व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय माओवादीको मात्र भएको भन्दै नेपालले पार्टीमा छलफल गर्न बाँकी रहेका बताएका छन् ।
प्रधानमन्त्रीको हाउभाउ हेर्दा एमालेसँग भित्रभित्रै सहमति भइसकेको र गठबन्धनप्रति रुची नदेखिएको पाइएको ब्रिफिङ नेपालले आफू निकट नेताहरुसँग गरेका छन् । आफूहरुलाई पनि एमसीसीमा फसाउने र कुनै पनि बेला एमालेका माग सम्बोधन गर्ने डर माधव नेपालमा देखिएको एक नेताले बताए ।
उता नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी छ। बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बसिरहेको हो।
नेपाल सरकार र मिलिनियम च्यालेन्ज कर्पोरेसनसँगको अनुदान सम्झौता एमसीसीलाई प्रतिनिधि सभाबाट अनुमोदन गर्ने निर्णय गरेपछि संसदीय दललाई त्यसको जानकारी गराउन बैठक बोलाइएको हो। माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले आइतबार बिहान मात्रै एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको निर्णयपछि सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले आजै एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ। आजैको दोस्रो बैठकले एमसीसी अनुमोदन गर्ने कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन्।