काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी ‘व्याख्यात्मक घोषणा’ सहित पारित गर्न सत्ता गठबन्धनमा सहमति भएको छ।
आइतबार बसेको गठबन्धनका दलहरुको बैठकले यस्तो निर्णय गरेको हो । यससँगै आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकबाट एमसीसी पास गराउने तयारी सरकारले गरेको छ।
एमसीसीको विपक्षमा खरोरुपमा प्रस्तुत हुँदै आएका नेकपा एमाले नेता भीम रावलले एमसीसी सम्झौता सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक घोषणा’ ले सच्चिन्छ भनेर जनतालाई ठग्न लागिएको टिप्पणी गरेका छन् । संसदबाट अनुमोदन गर्ने निर्णय गरेसँगै नेता रावलले ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
‘एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ’व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो’, रावलले यसलाई महाकाली सन्धिको संकल्प प्रस्ताव जस्तै भएको समेत बताएका छन् ।
‘यो महाकाली सन्धिको ’संकल्प प्रस्ताव’ जस्तै निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो । देशघाती चरित्र !’, रावलको भनाइ छ ।
यसैबीच एमसीसी संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलको निर्णयप्रति अमेरिकाले सकारात्मक संकेत दिएको छ । यसअघि एमसीसी सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने अडानमा रहेका सत्तारुढ गठबन्धन ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गर्न तयार भएसँगै सत्तारुढ दलका नेताहरुले यसबारे अमेरिकी अधिकारीहरुसँग शनिबार साँझ टेलिफोन सम्पर्क गरेक थिए ।
प्रतिक्रिया
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।