काठमाडौं । एमसीसी संसदमा टेबल भएसँगै सदन र सडकमा यसविरुद्ध संघर्ष चलिरहेको छ । लामो समयदेखि एमसीसीको विरोधमा रहेको नेकपा माओवादी केन्द्र पनि यहि मुद्धाका कारण फुटको संघारमा पुगेको छ ।
एमसीसीको विरोधमा कार्यकर्तालाई सडकमा उतारेको माओवादी केन्द्रले अहिले फेरि व्याख्यात्मक विश्लेषणसहित एमसीसी पास गर्ने निर्णय गरेसँगै असन्तुष्ट नेताहरुले पार्टी परित्याग गर्ने तयारी गरेको बुझिएको छ ।
व्याख्यात्मक टिप्पणीसहित मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० पारित गर्ने गठबन्धनको तयारी प्रति नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरुले असहमति जनाएका छन् ।
यसबारे छलफल गर्न आइतबार बिहान केन्द्रीय कार्यालयको अनौपचारिक नेताहरुको बैठकमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएका थिए ।
देशको स्वाधिनताजस्तो विषयमा अध्यक्ष प्रचण्डले आफूखुशी निर्णय लिएको भन्दै ति नेताहरुले आवश्यक परे माओवादी पार्टी परित्याग गर्ने रणनीतिसहित गृहकार्य अघि बढाएको माओवादी केन्द्रका एक नेताले बताए ।
‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्ने विषयमा आफ्नो गम्भीर असहमति रहेको नेता लीलामणि पोखरेलले बताए । व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नरहेको भनेर आफूले पार्टी बैठकमा पनि प्रतिवाद गरेको भन्दै उनले यसले देश र जनताको भावनाको प्रतिनिधित्व नगर्ने र देशलाई नोक्सान गर्नेसमेत बताए ।
बैठकमा संविधान र गठबन्धनलाई जोगाउन बीचको बाटो खोज्नुपर्यो नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान र गठबन्धन जोगाउनका लागि एमसीसीमा बीचको बाटो खोज्नुपर्ने बताएका थिए ।
संविधान र प्रणालीलाई जोगाउन निरन्तर आइसोलेशनमा बसेर पनि नहुने प्रचण्डको भनाइ थियो । प्रचण्डले पार्टीले संशोधनबिना पारित गर्न नहुने भनेपनि संशोधन अमेरिकाले मान्यो भने बीचको बाटो खोज्नुपर्ने बताएको माओवादी केन्द्रका एक नेताको भनाइ छ ।
अहिले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० परियोजना अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।
व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमतिनजिक पुगेका छन् । माओवादी केन्द्रको आइतबार बिहान बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ ।
आफ्नो निवास खुमलटारमा आयोजित पार्टीको पूर्वस्थायी कमिटी बैठक सकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भर्खर बालुवाटार पुगेका छन्।