काठमाडौँ – अमेरिकाको द्वैत चरित्रका कारण अहिले युक्रेन युद्ध भइरहेको छ । रुसी सेनाले आक्रमण परि अहिलेसम्म १९८ जना युक्रेनीको ज्यान गएको छ ।
युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको ज्यान गएको पुष्टि गरेका हुन्। मारिएकामध्ये तीन जना बालबालिका पनि रहेको उनको भनाई छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दिएको जानकारी अनुसार मृतकको सङ्ख्या अझ धेरै हुन सक्ने सम्भावना रहेको छ।
पछिल्लो तीन दिनदेखिको भिडन्तका क्रममा अरु एक हजार ११५ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन्। घाइते भएका बालबालिकाको सङ्ख्या भने ३३ रहेको छ।
देश जोगाउनका लागि अहिले सुरक्षाकर्मी, स्वयंसेवक र आम नागरिक पनि हतियारसहित भिडन्तमा उत्रिएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकाले उद्धार गर्ने खबर पठाए पनि उनले अस्वीकार गरे।
अमेरिकी सञ्चारमाध्यमहरूले नै युक्रेनबाट उद्धार गर्ने अमेरिकाको प्रस्तावलाई उनले अस्वीकार गरेको जनाएका छन्।
अमेरिका अधिकारीहरूलाई उनले जवाफ दिएका छन्, ‘यहाँ लडाइँ भइरहेको छ, मलाई हतियार चाहिएको छ, म यही रहेर देश बचाउने छु, मलाई कतै जानु छैन। म जनतासँगै रहेर शत्रुका विरुद्धमा लड्नेछु।’
विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेता समेत रहेका राष्ट्रपति जेलेन्स्कीको यस जवाफका बारेमा सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ।
जबसम्म शत्रुले आक्रमण गरिरहने छन्, तबसम्म त्यसको सामना आफुले गरिरहने अठोटसहित उनले आफू युद्ध मैदानमै उत्रिएको देखिने एउटा भिडिओ पनि सामाजिक सञ्जालमा राखेका थिए।