काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेर फर्किएका छन् ।
प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्नका लागि सहयोग माग्दै बालकोट पुगेका हुन् । तर ओलीको कुनै सहमति बेगर देउवा बालुवाटार फर्किएका छन् ।
आजको बैठकपछि देउवा अब कहिल्यै बालकोट नजाने गरी फर्किएका छन् । आज सहित देउवा तीन पटक बालकोट गइसकेका छन् ।
त्यही एमसीसी पास गर्न सहयोग माग्दै देउवा तीन पटक बालकोट पुगेका हुन् ।
देउवाले भेटमा ओलीलाई सबैको सहमतिमा एमसीसी अनुमोदन गर्न प्रस्ताव गरेका थिए । तर ओली टसको मन भएनन् ।
एमाले अध्यक्ष ओलीको निवासमा भएको छलफलमा देउवाले अधिकतम सहमतिबाट एमसीसी अनुमोदनमा जोड दिएका थिए ।
तर एमाले अध्यक्ष ओलीले पुरानै अडान राखेका छन् । अहिलेको अवस्थामा संसदमा आएर आफ्नो धारणा राख्ने वातावरण नभएको उनले बताएको छलफलमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
ओलीले एमसीसीबारे अनिर्णित नबस्ने तर संसदमा उपस्थित भएर यसबारे छलफल गर्न आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखको राजीनामा शर्त भएको एमालेले बताएको छ ।
एमाले नेताहरुले एमसीसीबारे आफ्नो दल अनिर्णित नरहने बताएका छन् । ‘स्पष्ट ढंगले आफ्नो दिशा दिन्छ, तर त्यसका लागि एमालेले सदनमा छलफल गर्ने वातावरण बनाउनुपर्यो’, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने ।
संसदमा उपस्थित भएर छलफलमा भाग लिने वातावरण बनाउन एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखले राजीनामा दिनुपर्ने एमालेको अडान छ ।