काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सरकार र गठबन्धन जोगाउन अन्तिम विकल्प पेश गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी प्रकरणले सरकार ढल्ने भएपछि प्रचण्डले अन्तिम विकल्प पेश गरेका हुन् ।
सत्ता साझेदार माओवादी केन्द्रले गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय गरेर नयाँ सम्भावनाको ढोका खुलाइदिएका हुन् ।
हिजोसम्म एमसीसीको विपक्षमा मत दिने निर्णय गरेका माओवादी र एकीकृत समाजवादीले एमसीसी अनुमोदनका लागि लचिलो हुने सन्देश प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि पठाइसकेका छन् । योसँगै गठबन्धनका दलहरु आन्तरिक छलफलमा बसेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई बालुवाटार बोलाएर छलफल थालेका छन् भने एकीकृत समाजवादीका शीर्ष नेताहरु सिंहदरबारमा जुटेका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अध्यक्ष माधवकुमार नेपालले सम्मानित नेता झलनाथ खनालसहित केही मन्त्रीहरुसँग अहिले छलफल गरिरहेका छन् ।
यसअघि बिहान बालुवाटारमा प्रधानमन्त्री देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । धनगढीबाट आएर सोझै बालुवाटार पुगेका नेपालले ‘विन विन सिच्युएसन’का लागि देउवासामु विभिन्न विकल्प राखेको बुझिएको हो ।
बिहानै प्रचण्ड निवास खुमलटारमा बसेको माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले गठबन्धन जोगाउन अन्तिम पहल गर्ने निर्णय गरेको थियो । एमसीसीमा सैद्धान्तिक अडान कायमै राखेर संसदीय प्रक्रियामा लचक हुने माओवादीको संकेत पाएलगत्तै गठबन्धन जोगाउन नेताहरु सक्रिय भएका हुन् ।
आजै प्रचण्ड र प्रधानमन्त्री देउवाबीच पनि छलफल हुने र गठबन्धनको बैठक बोलाइने पनि बताइएको छ । जुनसुकै मूल्यमा एमसीसी पारित गराउन कस्सिएर लाग्नुभएका प्रधानमन्त्री देउवाले प्रतिपक्ष एमालेसँग पनि समानान्तर छलफल गरिरहनु भएको छ ।
तर, अहिले पनि देउवाको प्राथमिकता भने गठबन्धनमै सहमति जुटाएर एमसीसी पास गराउनेमा रहेको बताइन्छ । त्यसका लागि ‘साँप मर्ने, लौरो नभाँचिने’ फर्मूला अपनाउन खोजिएको गठबन्धनका एक नेताले बताए ।
उनका अनुसार त्यसमा सहमति जुटे एमसीसी संसदमा निर्णयार्थ पेश हुँदा माओवादी र समाजवादीले विपक्षमा मतदान गर्ने छैनन्, बहिष्कार गर्नेछन् । कांग्रेस, लोसपा र जसपाको बाबुराम खेमाले पक्षमा मत हाल्नेछ । सम्भवतः प्रतिपक्ष एमालेले नारावाजी गरिरहने छ ।
एमालेको उपस्थितिलाई गणना नगरी उपस्थितिको बहुमतले एमसीसी पारित हुने हिसाब उनले सुनाए । यो परिस्थिति आउनुमा एमालेले देउवालाई प्रष्ट जवाफ नदिनु पनि कारण रहेको बताइन्छ ।
माओवादी र समाजवादीले विपक्षमा मत हाल्ने निर्णय गरेपछि देउवाले हिजो दुई पटकसम्म एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरुसँग कुराकानी गरेका थिए । तर, एमालेले एमसीसीमा जिब्रो चपाएर कुरा गरेपछि देउवा हच्किनुभएको कांग्रेसका एक नेताले बताए ।
‘एमसीसीमा ठ्याक्कै धारणा नदिने तर, सभामुख फेर्ने र माधव नेपालहरुलाई कारवाही गर्नुपर्ने कुरा उहाँले बेस्सरी उठाउनुभयो’, उनले भने, ‘प्रधानमन्त्रीज्यूको प्राथमिकता फागुन १६ भित्रै एमसीसी पास गर्नुपर्छ भन्ने छ । ओलीजीले त्यसमा प्रष्ट जवाफ दिएकोजस्तो मलाई लाग्दैन ।’
सहमति गर्ने तर कार्यान्वयन नगर्ने एमाले अध्यक्ष ओलीको कार्यशैलीले पनि प्रधानमन्त्री देउवा आश्वस्त हुन् नसकेको उनको अनुमान छ । ओलीले अहिले हुन्छ भनेर एउटा सहमति गर्दिने तर, पछि राष्ट्रपतिसँग मिलेर सरकार नै ढाल्दिने पो हो कि भने डर देउवालाई छ ।
एकातिर एमसीसीमा सघाउने प्रष्ट जवाफ नआउनु अर्कोतिर ओलीले चुनावी सरकारको नेतृत्व दावी गर्नुले देउवा हच्किएको बताइन्छ । हिजोको देउवा–ओली छलफलमा दुई पार्टीले संघदेखि प्रदेशसम्म सत्ता सहकार्य गर्ने सहमति जुटेको बताइएको थियो ।
यिनै घटनाक्रम र गठबन्धनमै सहमतिको सम्भावना देखेर प्रधानमन्त्री देउवाले सभामुख अग्नि सापकोटालाई भनेर आजको प्रतिनिधिसभा बैठक स्थगित गराएको बताइन्छ । पर्सि अर्को बैठक बोलाइएको छ । त्यतिन्जेलसम्म गठबन्धनलाई प्राथमिकतामा राखेर दुबैतिर थप छलफल गर्ने देउवाको तयारी छ ।