काठमाडौं – बिहीबार अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्धको प्रदर्शनमा एक जना सिकिस्त घाइते भए । प्रदर्शनका क्रममा प्रहरीको गोली लागि डडेलधुराका २७ वर्षीय हेमराज अवस्थी गम्भिर घाइते भएका हुन् ।
उनको टाउकोमा ठूलो चोट लाग्यो । घाइते अवस्थीलाई प्रहरी टोलीले उपचारका लागि नजिकै रहेको एभरेष्ट अस्पालत पुर्यायो । एभरेष्ट अस्पतालले आफूले उपचार गर्न नसक्ने भन्दै राष्ट्रिय ट्रमा सेन्टर रिफर गर्यो ।
ट्रमा सेन्टरले पनि टाउकोमा गम्भीर चोट लागेको भन्दै अन्नपूर्ण न्युरो अस्पतालमा रिफर गर्यो । उनको गएराती सल्यक्रिया गरिएको छ । स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
हेमराज जीवन र मृत्युको दोसाँधमा रहेका बेलामा सामाजिक सञ्जाल प्रयोगकर्ताले अर्कै व्यक्तिलाई मृत घोषणा गरिसकेका थिए । यतिबेलासम्म ‘प्रहरीको गोली लागेर हेमराज अवस्थीको मृत्यु’ भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले बैतडी घर भई कञ्चनपुर बस्दै आएका सुदूरपश्चिम विश्वविद्यालयका अखिल क्रान्तिकारीका अध्यक्ष हेमराज अवस्थीको फोटो भाइरल गराए ।
त्यो सुनेर साथीहरुले हेमराजलाई फोन गरे । नचिनेका प्रदर्शनकारी, सामाजिक अभियन्तालगायत अन्य व्यक्तिहरुले सामाजिक सञ्जालमा अवस्थीको मृत्यु भएको खबर र फोटो पोष्ट गरे । जुन खबर कञ्चनपुरका हेमराज अवस्थी आफैंले पढे । आफू परलोक भएको खबर आफैंले पढेको उनी सुनाउँछन् ।
घरमा फोन सम्पर्क नभएपछि बैतडीमा बस्दै आएकी उनकी आमाले पनि छोराको मृत्युको खबर सामाजिक सञ्जालमै देखिन् । त्यसपछि छोरोको मृत्युको खबरले अवस्थीकी आमा अचेत भइन् ।
‘‘भ्रामक खबर आएको कुराबारे घरमा समयमै खबर गर्न पाइनँ । केही समयपछि मात्रै फोन सम्पर्क भयो । त्यसपछि घर परिवारलाई सम्झाएँ । म मरेको छैन भनेर आफैंले विश्वस्थ तुल्याउनुपर्ने अवस्था आयो,” आफ्नो मृत्युको खबरबारे उनी भन्छन्, “साथीभाइलगायत धेरैले सामाजिक सञ्जालमा मलाई मृत बनाएर भ्रामक खबर प्रचार गरे ।”
बिहीबार आफ्नो परिवार र आफन्तले भोगेको तनाव सम्झिँदै उनले सामाजिक सञ्जालमा नबुझेरै गरिने भ्रामक र झुटा प्रचारले मान्छेको भविष्यमाथि नै खेलवाड भइरहेको बताए ।
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले जिवित मानिसलाई मृत बनाइ सामाजिक सञ्जालमा भ्रामक खबर प्रकाशित गरे प्रकृति अनुसार कारबाही गरिने बताए ।