काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि ठूलो अबसर प्राप्त भएको छ । अत्यधिक विवादित अमेरिकी सहयोग परियोजना एमसीसीले ओलीको भाग्य चम्काइदिएको हो ।
अहिले उनले एमसीसीको पक्षधर नेपाली कांग्रेस र विपक्षी नेकपा माओवादीले फकाइरहेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका सम्पूर्ण माग पुरा गरिदिने बचन दिदै फकाइरहेका छन् ।
यता माओवादी अध्यक्ष प्रचण्डले पनि ओलीलाई प्रधानमन्त्री बन्ने सम्मको अफर गरिरहेका छन् । तर ओलीले अहिलेसम्म कुनै पनि निर्णय गरिसकेका छैनन् ।
सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले एमसीसीको विपक्षमा भोट हाल्दै सरकारबाट बाहिरिने बताएपछि प्रधानमन्त्री देउवाको दाँतबाट पसिना आएको छ । त्यही भएर देउवा एमालेले राखेका तीन वटा मागहरुमा लचिलो बनेका छन् ।
एमालेको पहिलो शर्त छ, एमालेले कारवाही गरेका १४ सांसदलाई बर्खास्त गर्न पर्ने । यो मागमा देउवा तयार छन् ।
सत्ता सहयात्रीहरुबाटै साथ नपाउँने अवस्था देखेपछि छट्पटीएका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सँगको संवादलाई तिब्र बनाएपछि प्रचण्ड पनि कस्सिएका हुन् ।
सत्तासहयात्री दलहरु नेकपा मओवादी केन्द्र र नेकपा एसले विपक्षमा मत हाल्दा एमसीसी पास गराउँन बहुमत नपुग्ने पक्का छ यता एमसीसी पास गर्नु पर्छ भन्दै न्वारन देखिको बल लगाएर कुदेका जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष बावुराम भट्टराईले आफ्नै पार्टी भित्रको मत पनि एकमत ल्याउँन नसक्ने हिसाब आएको छ ।
गठबन्धन भित्रको अर्को दल राष्ट्रिय जनमोर्चाले त एमसीसी खारेजीको माग गर्दै सडक तताएको धेरैनै भइसकेको छ ।
एमसीसी पास गर्न कुद्ने र फेल गराउँन कुद्ने दुवै पक्षले एमाले र केपी ओलीको मुख ताक्नु पर्ने अवस्था देखिएको छ। विकसित परिस्थितीले एमालेले एमसीसीको पक्ष लिए पास हुने र विपक्ष लिए फेल हुने अवस्था देखिएको छ । एमसीसीको बल अब केपी ओलीको हातमा पुगेको छ ।
चर्चित राजनितीक बिश्लेषक डा. सुरेन्द्र केसीले पनि अब एमसीसी केपी ओलीको हातमा भएको र उनले जे निर्णय गर्छन् त्यहि हुने बताएका छन् । सबै नेपाली जनताको आशाको केन्द्र यतिबेला केपी ओली रहेको भन्दै डा. केसीले एमसीसीलाई नो भनेर फकाईदिन ओली समक्ष अनुरोध पनि गरेका छन् ।
साथै ओलीले एमसीसी फेल गराए देशमा फेरी एमालेले एकल बहुमत ल्याउने उनको विश्लेषण छ ।
यता, नेपालका लागि नेपाली पार्टीका वरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले एमसीसीको बल केपी ओलीको कोटमा पुगेको भन्दै ओलीले एमसीसीको विपक्षमा निर्णय गर्दा यो फेल हुने बताएका छन् ।
डा. भण्डारीले एमाले अध्यक्ष ओलीले अब धेरै दाउ नहेरी एमसीसीको विपक्षमा उभिनु पर्ने बताएका हुन् । एमसीसी रोक्दा एमालेले लगाउने गरेको राजनेताको पगरी सबै नेपालीले लगाउने उनको भनाई छ ।